२६ फरवरीः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा शीर्ष दुईमा रहने आर्सनल र म्यानचेष्टर सिटीले शनिवार राति आ-आफ्नो म्याच जित्यो। यसबीच लिभरपूल चाहिँ ड्र-मा रोकियो। आर्सनलले रोमाञ्चक म्याचमा लिस्टर सिटी विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। किंग पावर स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट एकमात्र गोल गेब्रिएल मार्टिनेल्लीले ४६औं मिनटमा छिराए। यस जीतपछि आर्सनल २४ वटा म्याचमा ५७ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै १४औं स्थानमा रहने लिस्टर सिटीसँग २४ पोइण्ट रहेको छ। म्यानचेष्टर सिटीले चाहिँ बोर्नमाउथ विरुद्ध ४-१-ले एकतर्फी जीत हासिल गऱ्यो। भाइटलिटी स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटी मध्यान्तरसम्म ३ गोलले अघि रहेको थियो। सिटीबाट जूलियन अल्भारेजले १५औं, एर्लिंग हालाण्डले २९औं र फिल फोडेनले ४५औं मिनटमा गोल गरे। बोर्नमाउथका डिफेण्डर क्रिस मेफामले ५१औं मिनटमा आफ्नै नेटमा गोली हाल्दा सिटीलाई म्याचको चौथो गोल हासिल भयो। यसरी नै होम टीमबाट जेफरसन लेर्माले ८३औं मिनटमा १ गोल गरे। यस जीतपछि सिटी २५ वटा म्याचमा ५५ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। बोर्नमाउथ २१ पोइण्टको साथ १९औं स्थानमा रहेको छ।
यसबीच लिभरपूल चाहिँ क्रिस्टल प्यालेसको होम ग्राउण्डमा खेलिएको म्याचमा गोलरहित ड्र (०-०)-मा रोकियो। म्याचमा अधिकांश समय नै गोली आफ्नो दखलमा राखे पनि लिभरपूलले जीत हासिल गर्न सकेन। केही दिन अघि मात्र च्याम्पियन्स लीगको म्याचमा रियल म्याड्रिड विरुद्ध ५ गोल खाने जुर्गेन क्लोपको टीमलाई शनिवार रातिको ड्र-ले ठूलो धक्का लागेको छ। लिभरपूल अहिले २३ वटा म्याचमा ३६ पोइण्टको साथ सातौं स्थानमा रहेको छ। यसरी नै १२औं स्थानमा रहने क्रिस्टल प्यालेससँग २४ वटा म्याचपछि २७ पोइण्ट रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा वेष्ट ह्यामले नटिंघम फरेष्टलाई ४-०-ले, लीड्स युनाइटेडले साउथम्प्टनलाई १-०-ले अनि एस्टन भिल्लाले एभर्टनलाई २-०-ले पराजित गऱ्यो।