गान्तोकः राज्यका गरीबी रेखामुनिका आमाहरूलाई आमा योजनामार्फत वार्षिक रूपमा २० हजार प्रदान गरिने मुख्यमन्त्री पीएस गोलेको घोषणापछि ती आमाहरूलाई आगामी ३ मार्चदेखि उक्त सहयोग राशि प्रदान गरिने छ। पाकिम जिल्ला अन्तर्गत रम्फूमा ३ मार्चको दिन आयोजन हुने घर दैलो अभियान समापन एवं महासभाबाट आमाहरूलाई यस योजना अन्तर्गत वित्तीय सहायता प्रदान गर्ने मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेतले पत्रकारहरूसँग कुराकानीमा बताए। यस योजनाबाट पहिलो चरणमा १४ हजारभन्दा अधिक आमाहरूलाई लाभान्वित हुने उनले बताएका छन्।
उनले बताएअनुसार, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकार गठनपछि घरमा कसैको नोकरी नभएका, छुटानाम भएकाहरू लगायत विविध कारणले आर्थिक रूपले कमजोर रहेका आमाहरूलाई सरकारको पक्षबाट वार्षिक रू. २० हजार प्रदान गर्ने घोषणा गरेका थिए। सोही अनुरुप यस योजना कार्यान्वयन गरिएको प्रेस सचिव बस्नेतले थप जानकारी गराएका छन्।यस महत्वकांक्षी योजनामार्फत सही आमाहरूलाई यसबाट लाभान्वित बनाउने उद्देश्यले उचित जाँच गरिँदा केही समय लागेको उल्लेख गर्दै प्रथम चरणमा १४ हजारभन्दा अधिक आमाहरूलाई छनौट गरिएको उनले जानकारी गराए। यस प्रकारको योजना कार्यान्वयन गर्ने सिक्किम राज्य देशमै पहिलो राज्य बनेको उनले दावी गरे। उल्लेखनीय छ, जसको घरमा कोही पनि सरकारी कर्मचारी छैनन् त्यस्तो परिवारका आमाहरुको निम्ति वार्षिक रूपमा २० हजार रुपियाँको आर्थिक सहयोग सरकारले महिला एवं बाल विकास विभागमार्फत प्रत्येक वर्ष प्रदान गर्ने योजना शुरु गरेको छ। उपरोक्त योजनालाई मुख्यमन्त्री स्वयंले परिकल्पना गरेका हुन् भने उनकै दूरदर्शी सोंचको परिणामस्वरूप यस योजनालाई प्रत्येक बेरोजगार आमाहरूसम्म पुऱ्याउन विशेष जोर दिइएको छ।