कालचिनीः जसबहादुर राणा पुस्तकालय दलसिंहपाड़ा अनि इजा प्रकाशन दार्जीलिङको संयुक्त आयोजनामा बिहीबार दलसिंहपाड़ास्थित होटल डुवर्स हेरिटेजको प्रेक्षागृहमा नेपाली अल्पसंख्यक संगोष्ठी एवम् बगुभाषी कवि गोष्ठी साथै अभिनन्दन कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रमको अध्यक्षता साहित्यकार डा. जीवन राणाले गरेको थियो भने विशिष्ठ अतिथिहरूमा प्रा. डा. नरेशचन्द्र खाती, युवकाज काफ्ले, बीबी विश्वकर्मा, आसबहादुर लिम्बु, सागर राई देवान, नारी हस्ताक्षर लेखिका साङ्मु लेप्चा, दुर्गा चामलिङ राई, अनिल थापा, समाजसेवी गणेश आले, उत्तम थापा, प्रभात थापा, शिक्षक तथा पत्रकार हर्कु तामाङ लगायत अन्यान्य साहित्यकार, कवि अनि समाजसेवीहरूको मुख्य उपस्थिति रहेको थियो।
नारी लेखिका तथा कवियत्री सुमित्रा अविरलद्वारा कार्यक्रमको सञ्चालन सम्पन्न भएको थियो भने कार्यक्रममा भाषिक अल्पसंख्यकको मुद्दा लिई उठेका अखिल भारतीय नेपाली भाषिक अल्पसंख्यक समितिको पक्षमा डा. जीवन राणा, प्रा. नरेशचन्द्र खाती, युवराज काफ्ले र बीबी विश्वकर्माले विस्तारित चर्चा चलाएको थियो। कार्यक्रमको दोस्रो चरणमा बहुभाषी कवि गोष्ठीको आयोजना गरीएको थियो भने मूलतः नेपाली र सादरी भाषाका कविहरू क्रमैले चन्दन भट्टराई, अमीर सुब्बा, दुर्गा राई चामलिङ, अजीत कट्टेल, ज्ञानलाल दर्नाल, सादरी कवि रामकुमार राणा, अमीत लोहोरा आदिले सुन्दर ढङ्गमा कविता वाचन गरेको थियो। यसै क्रममा साहित्य सेवा पत्रकारिता सेवा औ समाजसेवीहरूलाई आयोजक कमिटीको पक्षबाट स्मृति चिन्ह प्रदान गरीएको थियो। कार्यक्रमबारे डा. जीवन राणा अनि इजा प्रकाशनको पक्षबाट मञ्जुला लामा सुब्बाले कार्यक्रम भव्यरुपमा सफल भएको बताउँदै जरापु दलसिंहपाड़ा र इजा प्रकाशनको संयुक्त आयोजनामा मूलतः भाषिक अल्पसंख्यकमाथि संगोष्ठी साथै बहुभाषी कवि गोष्ठी र अभिनन्दन कार्यक्रम सम्पन्न भएको र यसले वर्तमान प्रबुद्ध युवा जमात अनि साहित्यिक यात्रीहरूलाई ठूलो प्रेरणा मिल्ने अनि आगामी कार्यको दिशानिर्देश प्रदान गर्ने जनाएका छन्। भाषिक अल्पसंख्यकमाथि अझै थुप्रै संगोष्ठी डुवर्सको विभिन्न ठाउँहरूमा सम्पन्न गर्ने कार्यक्रम रहेको डा. जीवन राणाले थप जनाएका छन्।