सिलगढी: जोरबङलो-सुकेपोखरी खण्डअन्तर्गत पर्ने धोत्रे बालासनका जनताले मुख्यमन्त्री ममता ब्यानर्जीको हातबाट पर्जापट्टा थाप्नु अघि जीटीए प्रमुख कार्यपाल अनित थापा र उपाध्यक्ष सभासद राजेश चौहान (क्षेत्रीय सभासद)लाई धन्यवाद दिन पिन्टेल भिलेज पुगे। भेला भएका समुहलाई सम्बोधन गर्दै अनित थापाले भने, ‘विगतको चुनावमा हामीले पर्जापट्टा दिलाउँछु भनेर चुनावी घोषणा नै गरेको थियौं। त्यही घोषणा अनुरूप मैले काम पनि गरे। कमानवासीले पर्जापट्टा पाउँछ भनेर कसैले पनि पत्याएको थिएन। फेरि विधानसभामा सरकारले पर्जापट्टा दिने घोषणा गर्यो। त्यसपछि अलि अलि गरेर मान्छेले विश्वास गर्न थाले। जब आज तपाईंको हातमा पर्जापट्टा आउँछ अनि मान्छेले देख्छ तब सबैले पत्याउने छन्l’
उनले थप भने, ‘मैले बारम्बार भन्ने गर्थे, घर हाम्रो, घरको छाना हाम्रो. तर जमीन नै हाम्रो होइन। आज तपाईं पर्जापट्टा लिएर जब घर जानुहुन्छ घमण्डसँग आफ्नो बाउबाजेले राखिदिएको जमीन मेरो भन्नुसक्नु हुनेछ। यो तपाईहरुको निम्ति ठूलो हतियार हो। अब तपाईहरुले यो जमीनमाथि धेरै कामकुरा गर्नुसक्नु हुनेछl’ जमीन माथि राजनीति गर्नु मिल्दैन भन्दै उनले भने, ‘हाम्रो निम्ति यो ठूलो उपलब्धि हो। आजदेखि पहाडमा नयाँ इतिहास रचिन्दैछ। पहिला घर अनि घडेरी आफ्नो बनाऔं। त्यसपछि अन्य जमीन पनि आफ्नो हुँदै जानेछl’ जानकारीअनुसार जम्मा १४० परिवारको पर्जापट्टा तयार छ। आज सिलगढीको कञ्चनजंघा स्टेडियममा आयोजित मुख्यमन्त्रीको कार्यक्रममा २ परिवारले मुख्यमन्त्रीको हातबाट पर्जापट्टा थाप्ने कार्यक्रम रहेको छ।