सिङ्ताम: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमेली मूलका नेपालीहरूमाथि लागेको विदेशीको कलंक सदैवको निम्ति मेटाउन सफल भएकोमा एसकेएम पार्टीले भोलि २० फरवरीको दिन सिङताममा विजय मनाउने भएको छ। उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति पार्टीका नेतृत्व एवं मन्त्रीहरूले निरन्तर रूपमा कार्यक्रमस्थलको निरीक्षण गरिरहेका छन्। यसै क्रममा आज पार्टीका महासचिव एवं सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती, पार्टीका युवा उपाध्यक्ष एवं मन्त्री सञ्जीत खरेल अनि कार्यक्रमको तयारीबारे स्थलगत निरीक्षण गर्दै जानकारी लिए। यस अवधि उनीहरूले पार्टी कार्यकर्तासँग भेट गर्दै गर्दै उनीहरूबाट सुझाउ अनि सल्लाह पनि लिए। पार्टी कार्यकर्ताद्वारा यस छोटो अवधिमा पनि कार्यक्रम तयारीलाई लिएर गरेको काम प्रति उनीहरूले सन्तुष्टी व्यक्त गरेका छन्। केवल २५ दिनको समय अवधि भित्रनै राज्यका मुख्यमन्त्रीले नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छना हटाउन सफल बनेकोमा उनलाई धन्यवाद दिनको निम्ति सबैलाई उक्त कार्यक्रममा सहभागी बन्दै सफल तुल्याउने पर्ने आग्रह गरेका छन्।

जानकारी गराइन्छ, केन्द्र सरकारको सहयोगमा राज्यका मुख्यमन्त्री पीएस गोलेको सक्रियतामा सर्वोच्च न्यायालयमा पुनः विचार याचिका दर्ता गरिएपछि सो याचिकाको सुनवाई गर्दै सर्वोच्च न्यायालयले सिक्किमे मूलका नेपालीहरूलाई विदेशी मूलको भनेर उल्लेखित वाक्यांशलाई हटाएको थियो। यसरी सिक्किमे मूलका नेपाली समुदायलाई वर्षौंदेखि लागेको कलंक मेटाउन सफल भएकोमा एसकेएम पार्टीले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेप्रति बधाई दिने साथै यस ऐतिहासिक निर्णयपछि विजय उत्सव मनाउने कार्यक्रम आयोजना गर्न लागेको हो।