प्रीमियर लीगः आर्सनल र लिभरपूलले जिते पनि चेल्सीको निराशाजनक हार

photocollage_20232191110664.jpg

१९ फरवरीः ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनल र लिभरपूलले जीत हासिल गरे पनि चेल्सीले चाहिँ हारको सामना गर्नु पऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले एस्टन भिल्ला विरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। एस्टन भिल्लाको होम ग्राउण्डमा खेलिएको म्याचमा आर्सनलले जीतको निम्ति निक्कै मेहनत गर्नु पऱ्यो कारण नियमित नब्बे मिनटको खेल समाप्त हुँदासम्म त स्कोर २-२-को बराबरीमा थियो तर स्टपेज टाइमको खेलमा २ गोल हासिल गरी मिकेल अर्टेटाको टीमले म्याच जित्यो। आर्सनलले म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेले पनि एस्टन भिल्ला दुईपल्ट अघि रहेको थियो। ओली वाट्किन्सले होम टीमलाई पाँचौं मिनटमै बढ़त दिलाए तर बुकायो साकाले १६औं मिनटमा गोल गरी आर्सनललाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि फिलिपे कोटिन्होले ३१औं मिनटमा गोल गरी एस्टन भिल्लालाई फेरि २-१-को बढ़त दिलाए तर मध्यान्तरपछि ओलेक्सान्द्र जिन्चेन्कोले ६१औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि म्याचले स्टपेज टाइममा नाटकीय मोड़ लियो। स्टपेज टाइमको तेस्रो मिनटमा एस्टन भिल्लाका गोलकीपर एमिलियानो मार्टिनेजले आत्मघाती गोल गरे। त्यसपछि सब्स्टीट्यूड खेलाड़ी गेब्रिएल मार्टिनेल्लीले स्टपेज टाइमको आठौं मिनटमा अझ एक गोल गरी आर्सनललाई ४-२-ले जीत दिलाए। यस जीतपछि आर्सनल २३ वटा म्याचमा ५४ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै ११औं स्थानमा रहने एस्टन भिल्लासँग २८ पोइण्ट रहेको छ।
यसरी नै लिभरपूलले दशजना खेलाड़ीमा सीमित न्यूक्यासललाई २-०-ले पराजित गऱ्यो। गोलकीपर निक पोपले २२औं मिनटमा रातो कार्ड देखेपछि न्यूक्यासलले आफ्नो होम ग्राउण्डमा अधिक चुनौती पेश गर्न सकेन। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट डार्विन नुनेजले १०औं र कोडी गाक्पोले १७औं मिनटमा गोल गरे। न्यूक्यासल यस हारपछि पनि २३ वटा म्याचमा ४१ पोइण्टको साथ चौथो स्थानमा कायम रह्यो। यसरी नै लिभरपूल २२ वटा म्याचपछि ३५ पोइण्ट लिएर आठौं स्थानमा पुग्यो। आर्सनल र लिभरपूलले जिते पनि चेल्सीले चाहिँ खराब फर्मबाट मुक्ति पाएन। च्याम्पियन्स लीगमा बोरुसिया डर्टमण्ड विरुद्ध पराजित भएको लगत्तै पछि चेल्सीले प्रीमियर लीगमा साउथम्प्टन विरुद्ध १-०-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा हासिल भएको यस हारले टीमको आत्मविश्वासलाई ठूलो धक्का लाग्नेछ। म्याचमा साउथम्प्टनको तर्फबाट एकमात्र गोल जेम्स वार्ड-प्रोसेले मध्यान्तर अघि स्टपेज टाइममा छिराए। यस हारपछि चेल्सी २३ वटा म्याचमा ३१ पोइण्टको साथ १०औं स्थानमा रहन पुग्यो। यसरी नै पोइण्ट्स टेबलको फेद (२०औं)-मा रहने साउथम्प्टनसँग १८ पोइण्ट रहेको छ। शीर्ष स्थानको रेसमा आर्सनललाई खेदो गर्न जारी राख्ने म्यानचेष्टर सिटी पनि शनिवार राति नटिंघम फरेष्ट विरुद्ध १-१-को ड्र-मा रोकियो। म्याचमा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि सिटीले केवल एक गोल गर्न सक्यो। बर्नार्डो सिल्वाले ४१औं मिनटमा सिटीलाई बढ़त दिलाए तर क्रिस वूडले ८४औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। म्यानचेष्टर सिटी अहिले २४ वटा म्याचमा ५२ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा बोर्नमाउथले वूल्भ्सलाईअनि फूलहामले ब्राइटनलाई १-०-को समान अन्तरले पराजित गऱ्यो। ब्रेण्टफोर्ड र क्रिस्टल प्यालेसबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement