गान्तोक: सिक्किम र सिक्किमेको हितलाई हेरेर राज्यका सबै राजनीतिक दलहरू आज एकै मञ्चमा आएर खड़ा भएका छन्। राजनीतिक नाफा नेक्सान र स्वार्थलाई पर सारेर सिक्किम र सिक्किमेको संवैधानिक हक-अधिकारलाई सुरक्षित गर्न आज राज्यका सत्तारुढ़ लगायत विभिन्न विपक्षी पार्टीहरू एउटै मञ्चमा आएर एकाअर्कालाई दोषारोपन नगरी गहन चिन्तन मनन र चर्चा गरे। यस्तो दृश्य सिक्किमको राजनीतिक इतिहासमा सम्भवतः पहिले कहिल्यै देखिएको थिएन। पछिल्ला करिब ३० वर्षमा त पक्कै यस्तो घट्ना भएको थिएन। यसको श्रेय जोइन्ट एक्शन कमिशन (ज्याक)लाई जान्छ जसले आजको यो सर्वदलीय बैठकको आयोजना गरेको थियो। स्थानीय एउटा होटलमा आयोजित कार्यक्रममा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम डेमोक्रेटिक फ्रण्ट, भारतीय जनता पार्टी, सिक्किम प्रदेश कङ्ग्रेस, सिक्किम रिपब्लिकन पार्टी, हाम्रो सिक्किम पार्टी, सिटिजन एक्शन पार्टी र आम आदमी पार्टीका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

आजको सर्वदलीय बैठक आयोजना गर्नुको उद्देश्य राज्यका पुराना रैथानेहरूलाई आयकर माफीको मामिलामा सर्वोच्च् न्यायालयले जारी गरेको १३ जनवरी २०२३ को फसेलाले राज्यमा सिर्जना गरेको उग्र विरोध र ८ फरवरीको दिन त्यसै मामिलाको समीक्षा याचिकामाथिको फसेलाले ल्याएको एकातिरको खुशी र अर्कोतिरको अन्योलता बारे चर्चा गर्नु रहेको थियो। जोइन्ट एक्शन कमिशनले यसको निम्ति तीनवटा विषय निर्धारित गरेको थियो जसभित्र रहेर वक्ताहरूले आफ्नो कुरा राख्नु पर्ने थियो। वक्ताहरू विषयवस्तुदेखि बाहिर नजावोस भनेर आयोजक पक्षले उचित नियम बनाएको थियो जसलाई सबै राजनीतिक पार्टीका प्रतिनिधि वक्ताहरूले पालन गरे।