जोरहाट: जिल्ला सदरमुकाम जोरहाटनगर चोक बजारमा बिहीबार राति करिब ९ः१५ बजे आगलागी हुँदा काठ र टिनका तीन सयभन्दा बढी पसल जलेर नष्ट भएका छन्। यी पसलहरू धेरै पुराना थिए। आगो निभाउनका लागि दमकलका करिब २५ टोलीले निकै संघर्ष गर्नुपरेको थियो।
शुक्रबार बिहान लागेको आगो पूर्णरुपमा निभाइएको थियो। पुलिसले दिएको जानकारीअनुसार पीडित पसल र उनीहरुका परिवारमा निराशा छाएको छ। पुलिसका अनुसार सबैभन्दा पहिले लुगा पसलबाट आगलागी भएको थियो। आगलागी भएको केही बेरमै भयावह बन्यो र तीन सयभन्दा बढी पसल जलेर खरानी भयो। स्थानीय विधायक हितेन्द्रनाथ गोस्वामी र राज्यसभा सदस्य कामाख्याप्रसाद टासाले घटनास्थलको निरीक्षण गरेका छन्। यसपछि बैठक बसेको स्थानीय सांसद र विधायकले बताए। बैठकमा सरकारले पसललाई सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
अधिकांश स्थानीय पसलले सर्ट सर्किटका कारण आगलागी भएको बताएका छन्। कतिपय पसलले भनेअनुसार पक्कै पनि यो बदमाशहरुको हात रहेको बताएका छन्। पसल जलेर करोडौंको नोक्सानी भएको वार्डका सदस्यको भनाइ छ। जलेर खरानी भएका अधिकांश पसलमा लुगा र किराना सामानको व्यापार हुने गरेको छ। केही दिनअघि नजिकैको मारवाडी पट्टीमा आगलागी हुँदा व्यापारिक प्रतिष्ठानमा ठूलो क्षति पुगेको थियो।










