कालचिनीः अलिपुरद्वारका भाजपा विधायक सुमन काञ्जीलाल तृणमूलमा गएपछि जिल्लामा भाजपाले यसको प्रतिवाद गर्दै विधायक सुमन काञ्जीलालको पुतला समेत दहन गरेको लगत्तै शुक्रबार फेरि भाजपा नेता शुभेन्दु अधिकारीको मुख्य उपस्थितिमा अलिपुरद्वारमा प्रतिवाद सभा सम्पन्न भयो। सभा हुन अघि सहरमा भाजपाको विशाल प्रतिवाद ऱ्याली निकालिएको थियो भने सभास्थलबाट मुख्य वक्ता शुभेन्दु अधिकारीले विधायक सुमन काञ्जीलालदेखि शुरु गरेर अलिपुरद्वार जिल्ला शासक, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत अलिपुरद्वारका अन्यान्य नेतृत्वहरूको खैरो खन्न पछि परेनन्। तृणमूलको असली जिल्ला शासक जिल्ला शासकको नाम लिएर शुभेन्दु अधिकारीले आरोप लगाउन पछि परेन।
त्यहीँ तिनले जिल्ला शासक लगायत जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा एवम् अन्यान्य कतिपय तृणमूल नेताहरूले भाजपा विधायकहरूसित सम्पर्क साध्ने प्रयास चलाएको र विधायक सुमन काञ्जीलालको अलिपुरद्वार जिल्ला शासकसित भएको बैठकको सीसीटीभी फूटेज आफूसित रहेको पनि दाबी गरे। सबैको हिसाब किताब हुने र आगामी लक्ष्य मुख्यमन्त्री ममता ब्यानर्जीलाई भूपु मुख्यमन्त्री बनाउन रहेको त्यो पनि पुरा गर्ने हुँकार गरे। आज उक्त प्रतिवाद सभामा फालाकाटा विधायक दीपक बर्मन, कालचिनी विधायक विशाल लामा, भाजपा अलिपुरद्वार जिल्ला सभापति भूषण मोदक एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो भने प्रायः हजारौँको संख्यामा भाजपा समर्थकहरूको उपस्थिति रहेको थियो। सबैलाई आगामी दिन जिल्ला शासक कार्यालय घेराउ गर्न कार्यक्रमको निम्ति भाजपा समर्थकहरूलाई तयार बस्ने आह्वान पनि शुभेन्दु अधिकारीले सभाको मञ्चबाट गरे।









