“यो भन्दा ठूलो खुसीको कुरा कमानवासीलाई आजको दिन अरु छैन। सबै कमानवासीलाई बधाई!” अनित थापा
कोलकाता: जीटीए क्षेत्रका चिया बगानका श्रमिकहरुले जमीन अधिकार दिलाउने पर्जा पट्ट चाँडै पाउने भएको छ। भोलि देखि नै कमानमा सर्भे सुरु हुनेछ।
जीटीएका प्रमुख कार्यपाल साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले कोलकाताबाट एउटा भिडियो जारी गरी भने, “मैले सरकार संग मिलेर नै काम गर्नेछु अनि पहाडको समस्या समाधान गर्नेछु भन्दै आएको हुँ। मैले कोलकातामा रहेर पर्जापट्टा अनि डि आई फण्ड क्षेत्रको मुद्दालाई सम्बन्धित विभागीय अधिकारी अनि मन्त्रीहरु समक्ष राखे। मैले यो मुद्दालाई माननीय मुख्यमन्त्री सामु पनि राखे।”
उनले कमानवासीको निम्ति खुशीको खबर ल्याएको छु भन्दै भने, “जीटीए क्षेत्रका कमानवासी अनि डि आई फण्ड क्षेत्रमा बस्ने मानिसलाई जमीनको अधिकार दिन्छु भनेर हिजो मात्र माननीय मुख्यमन्त्रीले मलाई वचन दिनु भएको थियो। कमानवासीको मानिसहरू जो आफ्नो पुर्खाले सिञ्चेको जमीनमा रहेर पनि जमीनको मलिकना हक पाएका थिएनन् उनीहरूले अब त्यो अधिकार पाउनेछन्। भोलि देखि कमानमा सर्भे सुरु हुनेछ।”
उनले कमानवासीलाई सतर्क गराउँदै भने, “सर्भे सुरु हुँदा विभिन्न राजनैतिक दल अनि नेताहरुले फेरि भड्काउने बयान दिनेछन्। यो सर्भे मात्र हो। अधिकार पत्र दिने छैन भन्नेछन्। यस्ता बयान देखि सतर्क रहनुहोस्।”
उनले अन्य राजनैतिक दलहरुलाई यो मुद्दालाई राजनीतिकरण नगरौं भनी निवेदन गर्दै भने, “यो मुद्दालाई पार्टीको दृष्टिकोणले होइन, कैयौं वर्ष देखि जमीनको अधिकार देखि वञ्चित रहेका मानिसहरूको अधिकारको कुरा हो।”
उनले भने, “कमानवासीको जमीनको सर्भे सकिने साथ उनीहरुलाई पर्जापट्टा पनि दिइने छ। मेरो जानकारी अनुसार सर्भे सकिएको १० दिन भित्रमा सरकारले पर्जापट्टा वितरण गर्नेछन्।”
आज सम्म जति जनाले पनि यस मुद्दा माथि काम गरे सबैलाई बधाई दिँदै उनले भने, “यो भन्दा ठूलो खुसीको कुरा कमानवासीलाई आजको दिन अरु छैन। सबै कमानवासीलाई बधाई।”
उनले अझ भने, “सरकार संग मिलेर काम गर्दा यसरी सकारात्मक कार्य गर्नु सकिन्छ भन्ने प्रमाण पनि हो यो। सरकारलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरुमा पनि सरकारले हाम्रो पहाडको समस्याहरु अनि मुद्दाहरू माथि काम गर्न सहयोग गर्नेछन् भन्ने आशा राखेको छु।डी आइ फण्ड क्षेत्रको काम पनि चाँडो भन्दा चाँडो सुरु हुनेछ।”
पर्जापट्टा दिलाउँछु भनेर पहाडका थुप्रै नेताहरुले कमानवासीलाई आश्वासन दिए। तर कुनै नेताले पनि कमानवासीलाई उनीहरूको जमीनको मालिकना हक दिलाउनु सकेन।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि आफ्नो चुनावी घोषणा पत्रमा गाउँ बस्ती अनि कमानवासीलाई जमीनको अधिकार दिलाउने घाेषणा गरेका थिए। गाउँका रैथाने हरूले विस्तारै जमीनको अधिकार पाउँदैषछन्।