कालचिनीः बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको कालचिनी चियाबारीको श्रमिकहरूले अन्ततः बाध्य भएर आज कालचिनी निमती मोड़मा पथावरोध गर्दै कमानको मालिक विरुद्ध नारा लगाए। कालचिनी चियाबारीको मालिकपक्षले श्रमिकहरूको वेतन समयमा नदिएको र बकाया पीएफ ग्रेच्युटी प्रदान नगरेको र अहिलेसम्म प्रायः १५ करोड़ रुपियाँको पीएफ र ग्रेच्युटी रकम नबुझाएको औ कमानको श्रमिकहरूले पाउने अन्य सुख सुविधाहरू स्वास्थ्य परिसेवा केही प्रदान गर्न नसकेकोमा कमानको ट्रेड यूनियन पक्षले डीएलसी र जेएलसी समक्ष ज्ञापन चढ़ाउँदा पनि कुनै पतो मालिकपक्ष र श्रम विभागले नदिएकोले आज अन्ततः बाध्य भएर पथावरोध गर्न बाध्य बनेको ट्रेड यूनियन प्रतिनिधिहरूले जनाएका छन्। उक्त पथावरोधमा तृणमूल चियाबारी श्रमिक यूनियन, डीसीबीडब्ल्यूयू, सीबीएमयू, बीटीडब्ल्यूयू र अन्यान्य यूनियनको यूनिट नेताहरू क्रमैले देवकुमार लामा, निरेन लामा, सोभित लामा, गणेश लामा, विकास महली, ओमदास लोहार एवम् अन्यान्यको उपस्थिति रहेको थियो भने कमानको श्रमिकहरूले निमती मोड़मा जमेर पथावरोध गर्दा हाँसीमारा, अलिपुरद्वार, हेमिल्टनगञ्ज र जयगाउँ यातायात गर्ने जम्मै वाहनहरूको जाम लागेको थियो। प्रायः २ घन्टा भन्दा अधिक समय पथावरोध हुँदा घटनास्थलमा कालचिनी बीडीओ कार्यालयका प्रतिनिधि आएर समस्या समाधानको शीघ्र व्यवस्था गरीने आश्वासन पाएपछि पथावरोध हटाईएको थियो।
यद्यपि श्रमिकहरूको वेतन नभएसम्म दैनिक २ घन्टाको पथावरोध गर्ने ट्रेड यूनियन प्रतिनिधिहरूले जनाएका छन्।
यदि कुनै हल ननिस्किए रेल अवरोध, अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या, कालचिनी बीडीओ कार्यालय सबै घेराउ गर्न पछि नहटने आक्रोशित श्रमिक औ यूनियन प्रतिनिधिहरूले बताएका छन्। अर्कोतिर आज कालचिनी चियाबारीको समस्या लिएर डुवर्सकन्यामा सर्वदलीय बैठक बोलाईएको र बैठकमा हुने निर्णय मुताबिक आगामी आन्दोलनको रुपरेखा तय हुने ट्रेड यूनियन प्रतिनिधिहरूले जनाएका छन्।