खरसाङ: मानव समाज दिन प्रतिदिन जति बढी आधुनिक युगमा प्रवेश गर्दै जाँदैछ उति नै बढी समाजमा विसङ्गतिसँगै अपराध पनि बढ्दै गइरहेको छl यस्तै विसङ्गति र अपराधहरूबाट सार्वसाधारणलाई सुरक्षित राख्न खरसाङ पुलिस थानाअन्तर्गत दिलाराम पुलिस थानाको आयोजनामा सिटोङ-१ को घलेटारमा विभिन्न विषयहरूमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयोl यस जनचेतनामूलक कार्यक्रममा मानव तस्करी, बाल सुरक्षा, फोहोरमैला-प्लास्टिकको उचित व्यवस्थापन, ड्रग्सको समस्या, साइबर अपराध र ट्राफिकको नियम कानून मूल विषय रहेको थियोl
मानव तस्करी र यसको जड बारेमा सन् २००४ ददेखि उत्तर बङ्गाललगायत सिक्किममा मानव तस्करी विरुद्ध अभियान चलाउँदै आएको गैर सरकारी संस्था कन्चनजंघा उद्धार केन्द्रका संस्थापक सदस्य प्रभात पाठकले जानकारी दिएl मानव तस्करीबाट सुरक्षित रहने औषधी भनेको नै सार्वजनिक सचेतना कार्यक्रम रहेको प्रभात पाठकले बताएl कन्चनजंघा उद्धार केन्द्रले मानव तस्करीको जालोबाट उद्धार गरेको घटनाहरू बारे उनले जानकारी दिएl यस्ता सचेतनामूलक कार्यक्रमहरू अझ बृहत रुपमा आयोजना हुनु आवश्यक रहेको उनले सुझाव दिएl कन्चनजंघा उद्धार केन्द्रद्वारा संचालित दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रका टीएम मेम्बर किशोर छेत्रीले चाइल्डलाइनको चौबीसै घण्टा नि:शुल्क सक्रिय रहने राष्ट्रिय टेलिफोन परिसेवा १०९८ बारे जानकारी दिएl आपदविपदमा परेका, हराएका बालबालिकाहरूलाई १०९८ टेलिफोन परिसेवाले तत्काल सहयोग पुर्याउने बारेमा उनले बताएl दिन प्रतिदिन बढिरहेको बाल यौन शोषणबारेमा पनि उनले सबैलाई अवगत गराएl हालका दिनहरूमा बालविवाहका मामलाहरू बढिरहेको बारेमा बताउँदै किशोर छेत्रीले यसबाट हुने घातक समस्याहरू बारे बताएl बालविवाहलाई रोक्नका लागि उनले सबैलाई आहवान गरेl
दार्जीलिङबाट आएका गैर सरकारी संस्था मार्गकी प्रतिनिधी राधा खवासले वैदेशिक रोजगारको नाममा कतिपय एजेन्टका कारण मानव तस्करीका घटनाहरू हुने गरेको बताइन्l यस्ता केही घटनाहरू बारेमा उनले उजागर गरिन् र सबैलाई सचेत साथै सतर्क भएर बस्ने आहवान गरिन्l लेट्स गो फाउन्डेसनका प्रतिनिधी भास्कर तामाङले फोहोरमैला र प्लास्टिक व्यस्थापनबारेमा आफ्नो वक्तव्य प्रस्तुत गरेl फालिएका साना साना प्लास्टिकहरूलाई जमा गरेर प्लास्टिककै बोतलमा हालेर इँटाको रुपमा प्रयोगमा ल्याउन सकिने उनले बताएl समाजले भोग्दै आएको ड्रग्सको समस्याबारेमा प्रेमुश भोटियाले विस्तृत रुपमा जानकारी दिएl आफ्नो अनुभवहरूलाई साझा गर्दै ड्रग्स साथै रक्सीले कसरी एउटा घर-परिवार, समाजलाई आघात पुर्याउँछ भन्ने बारेमा निक्कै रोचक ढङ्गमा बताएl ड्रग्सबाट टाडो रहनुपर्ने बारेमा बताउँदै उनले आफ्नो अनुभवहरू साझा गरेl शहर-बजार साथै सडकमा वाहनहरू चलाउँदा अपनाउनु पर्ने प्रणालीहरू बारेमा खरसाङका ट्राफिक ओसी दोर्जी शेर्पाले जानकारी दिएl यसका साथै उनले पालन गर्नुपर्ने ट्राफिकको नियम कानूनबारेमा पनि बताएl खरसाङ थानका आईसीले दिन प्रतिदिन भइरहने साइबर अपराध र यसबाट हुने ठगीहरूबाट सुरक्षित रहनुपर्ने बारेमा बताएl कार्यक्रमको प्रारम्भमा दिलाराम थानाका सेकेण्ड अफिसर बिरेन छेत्रीले कार्यक्रमको उद्देश्यबारेमा बताएl साम्देनद्वारा संचालित यस कार्यक्रममा दिलाराम थानका ओसी पासङ तामाङले सर्वसाधारणलाई विभिन्न दिशाबाट सुरक्षित राख्नका लागि यो कार्यक्रम आयोजना गरेको बताएl कार्यक्रममा खरसाङ थानथानाका ओसी पासङ शेर्पा, अन्य पुलिस अधिकारीहरू र गाउँका बासिन्दाहरू उपस्थिति रहेको थियोl