गान्तोक: राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो ११औं स्थापना दिवस कार्यक्रम समष्टिस्तरमा पालन गऱ्यो। आज राज्यका प्रायः सबै समष्टिमा स्थापना दिवस पालन गरिएको थियो। उल्लेखनीय छ, आजकै दिन २०१३मा पश्चिम सिक्किमको सोरेङ खेल मैदानमा यस पार्टीको घोषणा भएको हो। अघिल्लो वर्ष २०१४को विधानसभा चुनाउमा ७ वटा आसनमा विजयी बनेर विपक्षामा बसेको यस पार्टीले २०१९मा १७वटा आसनको साथमा सरकार गठन गरेको थियो। यसको साथै सिक्किममा २५ वर्षे सिक्किम डेमोक्रेटिक फ्रण्ट सरकारको पनि अन्त भएको थियो।
राज्यका विभिन्न समष्टिमा स्थापना दिवस पालन गरिएको थियो भने दक्षिण सिक्किमको नाम्ची सिङ्गीथाङ, पोकलक कामराङ, मल्ली र पश्चिम सिक्किमको जूम सालघारी समष्टिका निम्ति भने नाम्ची नजिक आसाङथाङ हेलीपेडमा एउटा कार्यक्रम आयोजना गरिएको थियो जसमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि हुनुहुन्थ्यो। यसै कार्यक्रममा दक्षिण र पश्चिम सिक्किमका विभिन्न क्षेत्रबाट एकसय भन्दा अधिक परिवार विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी त्यागेर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सम्पूर्ण पार्टी कार्यकर्ता अनि राज्यवासीलाई एसकेएम पार्टीको ११औं स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो। यसकोसाथै उहाँले यस बितेको चार वर्षमा आफ्नो सरकारले गरेका कार्यहरूबारे पनि जानकारी दिनुभयो।
उल्लेखनीय छ, सबै समष्टिस्तरीय कार्यक्रममा पनि मुख्यमन्त्री प्रमे सिंह तामाङको भीडियो संदेश पनि देखाइएको थियो।









