सिलगढी: तृणमूल कांग्रेसको श्रमिक संगठन आईएनटीटीयुसीका कार्यकर्ताहरूले उत्तर बङ्गालमा भाजपाका सांसद र विधायकहरूको घर घेराव गरेर चियाबगानका मजदुरहरूलाई दिग्भ्रमित पारिरहेको सांसद राजु बिष्टले बताएका छन्। विगत १२ वर्षदेखि सत्तामा रहे पनि, टीएमसीको सरकारले चियाबगानका मजदुरहरू, दार्जीलिङ र उत्तर बङ्गालको चिया उद्योगको सुरक्षाका लागि ठोस कदम चाल्न पूर्ण रूपमा असफल भएको उनको भनाइ छ। विज्ञप्ति जारी गर्दै उनले यसो भनेका छन्, ‘टीएमसी सरकारको त्रुटिपूर्ण नीति र प्राथमिकताहरूका कारण सम्पूर्ण चिया उद्योग पतनको दिशामा छ।
टीएमसीले चिया बगानका मजदुरहरूको हेरचाह गर्ने बहाना गरे पनि तथ्य यो हो, टीएमसीले २०१९-२० मा संसदले पारित गरेको नयाँ श्रम संहिता लागू गर्न अस्वीकार गरेको छ। यी संहिताहरूले सबै श्रमिकहरूको लागि उचित ज्यालाको ग्यारेन्टी गर्दछ, उनीहरूलाई राम्रो सामाजिक सुरक्षा जालहरू प्रदान गर्दछ, र उनीहरूका लागि राम्रो काम गर्ने अवस्था सुनिश्चित गर्दछ। यी नयाँ श्रम संहिता कार्यान्वयनमा भएको ढिलाइले हाम्रो क्षेत्रका चिया बगान र सिन्चोना बगानका मजदुरहरूलाई संविधानले सुनिश्चित गरेको अधिकारबाट वञ्चित बनाएको छl’
सांसद राजु बिष्टले अझ भने, ‘यसबाहेक, पश्चिम बङ्गाल सरकारले चिया बगानका मजदुरहरू सिन्कोना बगानका कामदारहरूलाई पर्जा पट्टा जग्गाको हक हालसम्म अस्वीकार गरेको छ, जबकि चिया बगानको १५ प्रतिशत जग्गामा चिया कम्पनीहरूलाई पाँच तारे होटलहरू निर्माण गर्न अनुमति दिएको छ। यसले श्रमिकहरूलाई केन्द्र सरकारका विभिन्न योजनाहरू जस्तै पीएमएवाई, स्थानीय रोजगारी र जीविकोपार्जनका अवसरहरू सिर्जना गर्नका लागि अन्य विभिन्न केन्द्रीय वित्त पोषित योजनाहरूबाट वञ्चित गरेको छl’ पीएफ मुद्दामा पनि क्षेत्रीय आरपीएफएले श्रमिकको पीएफ योगदानको आफ्नो अंश जम्मा नगर्ने चिया कम्पनीहरूलाई धेरै परिपत्र र रिमाइन्डरहरू पठाएको उनले बताएका छन्। आरपीएफएले भुक्तान नगर्ने कम्पनीहरू विरुद्ध स्थानीय पुलसी थानामा धेरै एफआईआरहरू दर्ता गर्न बाध्य भएको उनले बताएका छन्l जसमा सिलगढीमा १६, अलिपुरद्वारमा ४४, जलपाइगढीमा ७८ वटा एफआईआर दायर गरेको उनको भनाइ छl










