साहित्य परिषद्ले सर्वोच्च न्यायालयको फैसलाबारे विचार गोष्ठी आयोजन गर्ने

IMG_20230203_223144.jpg

गान्तोक: नेपाली साहित्य परिषद् सिक्किमले आउँदो ७ फरवरी २०२३ – को दिन सर्वोच्च न्यायालयको निर्णयः सिक्किमको संवैधानिक अवस्थिति विषयमाथि एउटा महत्त्वपूर्ण विचार गोष्ठीको आयोजन गरिरहेको छ। यस जानकारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमा दिएका छन्। राजधानी गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा आयोजन गरिने यस गोष्ठीमा सिक्किम उच्च न्यायालयका पूर्व न्यायाधीश एपी सुब्बा, वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ नरबहादुर खतिवड़ा, वरिष्ठ अधिवक्ता जोगें नाम्खा र अधिवक्ता यम कुमार सुब्बाले सर्वोच्च न्यायालयद्वारा १३ जनवरी २०२३ को दिन सुनाइएको फैसलामा सिक्किमे नेपालीमाथि विदेशी भनी गरिएको टिप्पणीलाई लिएर आम मानिसहरूमा देखिएको अन्योलताबारे आ-आफ्नो विचार एवम् तर्क राख्नेछन्। गोष्ठीमा संविधानको धारा ३७१ (एफ) को कठोरता अनि सम्भाव्यता, सर्वोच्च न्यायालयको फैसला अनि यसको प्रभाव, ओल्ड सेटलर्सको पक्षमा आएको सर्वोच्च न्यायालयको फैसलामाथि अवलोकन जस्ता विषयमाथि आलोचनात्मक समीक्षा गरिनेछ भने उपस्थित व्यक्तित्त्वहरूको जिज्ञासा र प्रश्नहरूको पनि संविधानवीद् एवम् कानुनवीदहरूले जवाब दिनेछन्। गोष्ठीमा जोइन्ट एक्सन कमिटीका प्रतिनिधिहरू कानुन महाविद्यालयका विद्यार्थीहरू, समाजका बुजुर्ग व्यक्तित्त्वहरू, कानुनवीदहरू, पत्रकार एवम् साहित्यकारहरूलाई आमन्त्रण गरिने निर्णय भएको छ। स्मरण गराइन्छ, सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुटको मुद्दामा सर्वोच्च न्यायालयद्वारा दिइएको फैसलाको टिप्पणीलाई लिएर अहिले यत्र-तत्र सर्वत्र विरोधका स्वर उठिरहेको छ। यस्तो स्थितिमा सर्वोच्चको यस विवादित फैसलाबारे चिन्तन- मन्थन गरेर एउटा नयाँ दिशा तय गर्न नेपाली साहित्य परिषद्ले यस प्रकारको पहल गरेको हो। गोष्ठीको परिणामलाई आधार गरेर परिषद्ले अघिल्लो कदम उठाउनेछ। यसअघि परिषद्ले सर्वोच्चको फैसलामा उल्लेखित आपत्तिजनक टिप्पणीको घोर विरोध गर्दै देशको सर्वोच्च निकायहरूमा पत्राचार गर्ने पनि निर्णय लिइसकेको छ। गोष्ठीलाई पूर्व न्यायाधीश एपी सुब्बाले अध्यक्षता गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement