अलिपुरद्वार जिल्ला तृणमूलभित्र गुटबाजीको शीतयुद्ध देखिन थाल्यो

bb02457c-4c41-40db-aa33-a8891f3a03b8


अलिपुरद्वारः अलिपुरद्वार जिल्ला तृणमूलको कतिपय सभा अनि दलीय कार्यालयमा जिल्ला चेयरम्यान मृदुल गोस्वामीलाई कुनै पतो नदिएको अभियोग तृणमूल अलिपुरद्वार जिल्ला सभापति अनि तिनको टीमप्रति उठ्न थालेको छ। यसै पनि विगतको लोकसभा र विधानसभा चुनाउको परिणामले राज्यका सत्तारूढ़ तृणमूलको राजनैतिक अवस्था अलिपुरद्वार जिल्ला मात्र नभएर उत्तरबंगालभरि नै खस्कन्दो देखिएको र त्यसमाथि अब आगामी पञ्चायत चुनाउ लगायत २०२४ मा सम्पन्न हुने लोकसभा चुनाउको तयारीमा जुटेका तृणमूल कङ्ग्रेसको अलिपुरद्वार जिल्ला कमिटीभित्र आन्तरिक द्वन्द्व देखिन थालेको छ। तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामीले अन्ततः आफ्नो मनभित्रको उकुस-मुकुसतालाई आफ्नो समर्थक एवम् सञ्चार माध्यमसितको कुराकानीमा प्रष्टाएको छ।
तिनले आफूलाई कतिपय दलगत कुराहरूमा अन्धकारमा राखेको बताउँदै गत २५ जनवरीको दिन बीरपाड़ामा सम्पन्न पार्टीको महत्वपूर्ण सभामा आफूलाई नडाकेको र कतिपयले सभास्थलबाट सभामा किन नआएको भन्दा नराम्रो लागेको जनाएका छन्।
धेरै दलीय कार्यक्रमको जानकारी आफूलाई नगराएको र आफू एकजना पार्टीको जिल्ला चेयरम्यान भएर पनि यदि दलको कार्यक्रममा सहभागी बन्ने आवश्यकता नभए चेयरम्यान बनाउनको तात्पर्य नरहेको दुखेसो व्यक्त गरेका छन्। शुरवातदेखि पार्टीको यात्रामा रहेको र पार्टी सुप्रिमो ममता ब्यानर्जी, सुव्रत बक्सी र अभिषेक ब्यानर्जीको अनुप्रेरणाले काम गर्दै आइरहेको र यदि दलभित्र चेयरम्यानको कुनै महत्व नरहे बरु साधारण कर्मी अनि समर्थकको रुपमा रहने एवम् आफ्नै पुरानो अधिवक्ताको पेशालाई निरन्तरता दिने तिनले बताएका छन्।
यता उपरोक्त सम्बन्धमा तृणमूल युवा कङ्ग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगतले पनि एकजना पार्टीको अभिभावक चेयरम्यानलाई कुनै पनि दलीय सभाको खबर नहुनु भनेको दुर्भाग्यजनक कुरा रहेको र यसले पार्टीलाई क्षति पुग्ने भएकोले यस कुरालाई गम्भीरताको साथ सुल्झाउन जरुरी रहेको जनाएका छन।
केही दिनभित्रै तृणमूलका कतिपय शीर्ष नेताहरु पद नरहने कुरा चर्चामा पनि आईरहेकोबीच पार्टीको चेयरम्यानले यसप्रकारको असन्तुष्टि पोख्नु तात्पर्यपूर्ण रहेको राजनैतिक पर्यवेक्षकहरुले जनाएका छन।
अर्कोतिर यस विषयमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले पार्टीभित्रको कुरालाई पार्टीभित्र नै मन्थन गर्नु पर्ने बताउँदै कुनै प्रकारको गुटबाजी कलह पार्टीमा नरहेको बताएका छन।
आगामी केही महीनाभित्रै पञ्चायत चुनाउको घोषणा हुने भएकोले विरोधी दल भाजपा लगायत अन्यान्य विरोधी दलहरु एवम् सत्तारूढ़ तृणमूलले पनि पार्टीगत कार्यक्रमलाई तिव्रता दिईरहेको छ भने भाजपा नेताहरुले तृणमूलभित्र गुटबाजी र आन्तरिक कलह चलिरहेको र आगामी चुनाउहरुमा भाजपाले राम्रो परिणाम गर्ने दाबी गरेका छन।
के साँच्चै नै तृणमूलभित्रको अन्तर्कलह शुरु भएको हो ? के यसले आगामी पञ्चायत चुनाउमा नकरात्मक प्रभाव पार्नेछ? के तृणमूल हाइकमानबाट शीर्ष नेताहरुको पदमा फेरबदल गर्ने हो? यसको आगामी चहल पहल अलिपुरद्वार जिल्ला र यसको ६ वटा ब्लकहरुमा देखा पर्ने राजनैतिक जानिफकारहरुले आशङंका व्यक्त गरेका छन‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement