कालचिनीः तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) द्वारा शुक्रबार कालचिनी खण्डको मधु चियाबारीका श्रमिकहरूको प्रायः १३ बुँदे दाबी चार्टर अफ डिमान्ड लिएर प्रबन्धक समक्ष ज्ञापन सुम्पिएको जानकारी टीसीबीएसयू प्रतिनिधिहरूले जनाएका छन्। अवकाश ग्रहण गरेका श्रमिकहरू एवम् मृत्यु भएको श्रमिकहरू र राजीनामा दिएका श्रमिकहरूको प्राप्य अधिकारहरू शीघ्र दिनुपर्ने, मधु चियाबारीको अस्पतालमा एमबीबीएस डाक्टर लगायत एम्बुलेन्स र पर्याप्त औषधीहरूको पूर्ति गरिनु पर्ने, श्रमिकहरूलाई झोली, तारपोलिन, चप्पल समयमा प्रदान गरिनु पर्ने, स्टाफ औ सबस्टाफहरूको उचित वेतन एवम् डेली रेटेड सरदार चौकीदारहरूलाई उनीहरूको रोज अनुरुप दिनुपर्ने, बन्द रहेको फ्याक्ट्रीलाई चलाईनु पर्ने, बिघा श्रमिकहरूलाई साप्ताहिक वेतन प्रदान गरिनु पर्ने, अवकाशग्रहण गरेका श्रमिकहरूले पाउने पीएफ र ग्रेच्युटी सबै समयमा दिनुपर्ने आदि दाबीहरूलाई लिएर आज मधु चियाबारीको प्रबन्धकसित बसेको र ज्ञापन सुम्पिएको टीसीबीएसयू प्रतिनिधिहरूले जनाएका छन्। आज सो ज्ञापन पत्रमा टीसीबीएसयूका केन्द्रिय नेताहरू रबिन राई, नकुल सोनार, ईश्धर खड़िया र नरेश लाकड़ा आदिको प्रमुख उपस्थिति रहेको थियो।