सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बिहीबार एउटा सकारात्मक पहल शुरु गरेका छन्l यो पहल वन-जङ्गल, पर्यावरण संरक्षण साथै भविष्यमा मानव सामाजको लागि अति नै बहुमूल्य सम्पत्तिसित सम्बन्धित छl जसअन्तर्गत हिमालय राज्यमा जन्मिने हरेक नानीका लागि १०० रूख रोपिनेछ। ‘मेरो रुख मेरो सन्ताति’ (रुख रोपौँ, विरासत छोडौँ) नामको पहल शुरु भएको अधिकारीहरुले बताएका छन्।
बालबालिकाको जन्मको सम्झनामा रुख रोपेर अभिभावक, बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई कसिलो बनाउने यस अभियानको उद्देश्य रहेको छ। मुख्यमन्त्री तामाङले भने, ‘नानी बढ्दै गएपछि रुखहरू बढ्दै गएको देख्नु भनेको नयाँ जन्मिएका नानीइलाई स्वागत गर्ने र यस धरतीमा उनीहरूको आगमनको उत्सव मनाउने प्रतीकात्मक तरिका हुनेछ। यो भारतमा आफ्नो किसिमको पहिलो हरित पहल होl’ कार्यक्रममा मुख्यमन्त्री तामाङले केही अभिभावकलाई प्रतीकात्मक बिरुवा पनि वितरण गरेका थिए। वन सचिव प्रदीप कुमारले यस पहलले प्रकृतिप्रतिको मानिसको दृष्टिकोणमा परिवर्तन ल्याउने र सन्तानको जन्मको अवसरमा रोपाइएका पुस्ताबीच पुल निर्माण हुने बताए। उनले सिक्किमको समाजको प्राचीनकालदेखि नै प्रकृतिसँग घनिष्ट सम्बन्ध रहेको बताए।
मुख्यमन्त्रीले भने, ‘हामी हाम्रा हिमाल, पोखरी, नदी, गुफा, झरनाको मात्रै सम्मान गर्दैनौं, सम्पूर्ण पर्यावरणलाई पवित्र मान्छौंl’ यस पहलको उद्देश्य प्रकृतिसँग मानव समाजको पुरानो सम्बन्धलाई बलियो बनाउनु रहेको छ। यसले एक इकोसिस्टम सिर्जना गर्ने आकांक्षा राख्छ जहाँ रूख र नानी दुवै सूर्यमा पुग्न सक्षम हुन्छन्, उज्ज्वल भोलि जसले जीवन शक्ति, स्वास्थ्य र आनन्दको प्रतिज्ञा गर्दछ। सिक्किमका मुख्य सचिव वीबी पाठकले पहलको सफलताको लागि राज्य सरकारका विभिन्न विभागहरूले नयाँ अभिभावकहरूलाई निर्बाध सेवा प्रदान गर्न एकसाथ आउन आवश्यक रहेको बताए। उनले भने, ‘आशा र आंगनवाडी कार्यकर्ताहरू, पञ्चायतहरू, नागरिक निकायहरू र वन कर्मचारीहरूले अभिभावकहरूलाई अनबोर्डिङ सुविधा दिन आवश्यक छl’ उनले व्हाट्सएप, इमेल र वेब पोर्टल जस्ता डिजिटल प्लेटफर्महरूले नयाँ अभिभावकहरूलाई जडान गर्न सक्षम बनाएको बताए। सिक्किम सूचना आयोगका अनुसार सिक्किमको जनसंख्या लगभग ६.३२ लाख छ।









