नयाँ दिल्ली: अयोध्यामा निर्माणाधीन राम मन्दिरको काम तीव्र गतिमा भइरहेको छ। यसैबीच श्रीराम र माता सीताको मूर्ति बनाउने काम पनि शुरु हुन लागेको र यसका लागि नेपालबाट अयोध्यामा दुई ठूला ढुङ्गा ल्याइएको छ। पोखराको कालीगण्डकी नदीबाट गत २६ जनवरीमा ४० टनभन्दा बढी तौलका दुईवटा ढुङ्गा निकालेर दुई ट्रकमा बोकेर अयोध्या लगिएको थियो। यसै क्रममा शनिबार राति यी दुई ठूला ढुङ्गाहरू नेपाल–भारत सीमावर्ती जनकपुरधाम पुगेको थियो, जहाँ जानकी मन्दिरको आँगनमा राखिएको थियो। आइतबार यी दुई ठूला ढुङ्गालाई जानकी मन्दिरमै राखिएको थियो, जसको दर्शन गर्न र पूजा गर्न हजारौं मानिसहरु आउन थालेका थिए। आइतबार राम र माता सीताको मूर्ति बनाउन प्रयोग हुने ढुङ्गा हेर्न जनकपुरधाम र छेउछाउका बासिन्दा आएका थिए भने भक्तजनले दिनभर पूजाअर्चना गरेका थिए। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले यी दुई ढुङ्गाको महत्वबारे बताउदै यी करिब ६ करोड वर्ष पुराना ढुङ्गा आज पनि जीवित रहेको बताए। ती ढुङ्गा नेपालबाट अयोध्या लैजान भारत सरकारले नेपाल सरकारसँग वार्ता गरेपछि सम्भव भएको उनले बताए।
नेपाल सरकारको स्वीकृतिपछि विज्ञको टोली पोखराको कालीगण्डकी नदीमा पुगेर ती ढुङ्गा छनोट गरिएको महन्त दासले बताए। २६ जनवरीमा यी दुई ढुङ्गालाई नदीबाट बाहिर निकाल्नुअघि माफी पुजा गरिएको थियो। त्यसपछि मात्र यी ढुङ्गाहरू अयोध्या लैजाने यात्रा शुरु भयो। आइतबार दिनभर जनकपुरधाममा ढुङ्गा हेर्न र पूजा गर्न मानिसहरुको भीड लागेको थियो भने सम्पूर्ण वातावरण जय श्रीरामको नाराले गुञ्जिएको थियो। हाल नेपाल–भारत सीमावर्ती जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेको यी दुवै ढुङ्गा सोमबार बिहान जटली सीमा नाघेर मधुबनी हुँदै भारतीय सीमामा प्रवेश गर्नेछन्। कार्यक्रम अनुसार यात्रा सोमबार साँझ मुजफ्फरपुरको काठीमा रोकेर मङ्गलबार गोपालगञ्ज हुँदै गोरखपुर पुग्नेछ।