२८ जनवरीः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा कालेबुङको युनाइटेड ब्रदर्स फाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनल म्याचमा युनाइटेड ब्रदर्सले कालेबुङ पुलिसलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङले २ र बसन्त राईले १ गोल गरे। कालेबुङ पुलिसबाट प्रभेश छेत्रीले १ गोल गरे। सेमिफाइनलमा महत्त्वपूर्ण २ गोलको निम्ति युनाइटेड ब्रदर्सका लाक्पा तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार (३० जनवरी) खेलिने फाइनल म्याचमा युनाइटेड ब्रदर्स र सिलगढ़ीको रोयल फूटबल क्लबबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









