बानरहाट- ठूलो दुर्घटना हुनबाट बाँच्यो कञ्चनकन्या एक्सप्रेस। रेल लाइनको लिकमा असुरक्षित ग्यास सिलेन्डर राखेर लिकको वेल्डिङ गरिरहेको समयमा अचानक रेल आउनाले उक्त ग्यास सिलेण्डरसँग ठोक्कर भएको थियो। रेल चालकले अचानक एमरजेन्सी ब्रेक लगाएर रेल रोक्नाले ठूलो दुर्घटना हुनबाट बाँचेको थियो। आज बिहान साढे 10 बजे कलकत्तादेखि अलिपुरद्वारतर्फ आइरहेको कञ्चनकन्या एक्सप्रेस डाउन देवपाडा चियाबारी अन्डरपास नजिकै खुट्टी सङ्ख्या 887 छेवमै रेलवे कै काममा जुटिरहेका निजी कर्मचारीहरूले रेल लाइनको लिकलाई वेल्डिङ गरिरहेका थिए। त्यसै समय उक्त कर्मचारीहरूले रेल आएको देख्न साथ एलपीजी ग्यास सिलेन्डरलाई हटाउन सफल बनेतापनि अक्सिजनको सिलेन्डर भने तिनीहरूले हटाउन भ्याएनन्। जसको फलस्वरुप नै उक्त ट्रेनले अक्सिजनको सिलेन्डरलाई ठोक्कर दिँदै केही पर पुगेपछि तत्कालै रेलका चालकले इमर्जेन्सी ब्रेक लगाएर रोकेका थिए। यसरी क्षेत्रमा काम भइरहेको जानकारी स्टेशन मास्टरलाई पनि नभएकोले तिनले चालकलाई सिग्नल दिएका थिएनन्। जसको फलस्वरूप नै रेल आफ्नो गतिमा आएको थियो। तर अचानक रेल अघि धेरै मानिसहरूको भिड देखेर एमर्जेन्सी ब्रेक लगाएर ट्रेन रोकेको थियो।

यसबारे बानरहाट स्टेसन मास्टर धरमेन्द्र कुमारले भने, यसरी काम भइरहेको जानकारी निजी कम्पनीले आफूहरूलाई नगराएको र आफू यसबारे अवगत नभएको कारणले रेल चालकलाई सिग्लन दिन नसकेको कारणले यो घटना भएको हो। रेलको पाइलट अनि गार्डले रेल स्टेसनमा आएर जनाए पश्चात मात्र आफूहरूलाई घटनाबारे जानकारी थाहा लागेको बताए। तत्कालै एउटा टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको पनि तिनले थप बताए।










