सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर १ कुलीपाडाको धरमनगर क्षेत्रमा भीषण आगलागी भएको छ। आगो नियन्त्रण गर्ने क्रममा ४ जना जलेका छन्। १० भन्दा बढी घरमा क्षति पुगेको छ। आगलागी शनिबार बिहान लगभग १० बजे भएको बताइएको छ। घरमा खाना पकाउने क्रममा ग्यासको सिलेन्डर चुहिएर आगलागी भएको स्थानीयले बताएका छन्। घरका महिलाहरू डराएर घरबाहिर निस्कँदा सिलेन्डर पड्किएर आगो फैलियो। बाक्लो जनसङ्ख्या भएकाले केही बेरमै आगो वरपरका घरहरूमा फैलिएको थियो। त्यहाँ केही थप ग्यास सिलेन्डर विस्फोट भए र आगोको तीव्रता विस्तारै बढ्दै गयो। दमकलका तीनवटा इन्जिन घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन्। यद्यपि यो आगलागीबाट धेरै क्षति भएको छ।

आगो निभाउने क्रममा ४ जना जलेका छन्। जसमध्ये एकजना गम्भीर घाइते भएका छन्। उनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएलगत्तै वडा नम्बर १ का पार्षद सञ्जय पाठक र उपमेयर रञ्जन सरकार घटनास्थल पुगेका थिए। उनले पीडित परिवारको साथमा रहने आश्वासन दिए। नगरपालिकाले पीडितलाई केही कपडा र अन्य अत्यावश्यक सामाग्री अस्थायी रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।