गान्तोक: राज्यमा पहिलोपल्ट दसक सांस्कृतिक महोत्सव गेजिङ बर्मेक निर्वाचन क्षेत्रको महात्मा श्रीजंघा सरकारी वरिष्ठ माध्यमिक विद्यालय बर्मेकको खेल मैदानमा पालन गरियो। अखिल सिक्किम अनुसूचित जनजाति कल्याण संघद्वारा आयोजन गरिएको यस कार्यक्रममा क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने सिक्किम सरकारका शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागमा मन्त्री एलबी दास विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले मुख्यमन्त्री प्रेमसिंह तामाङको अनुमतिको साथमा यो कार्यक्रम आयोजन गरेको बताए। उनले यस प्रकारको महत्त्वपूर्ण पर्व आयोजना गर्न सफल कार्यक्रम आयोजक समितिलाई धन्यवाद दिए। उनले आज सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि राज्यका सबै जातिले न्याय पाएको उल्लेख गर्दै सरकारले सबै जाति माथि समान दृष्टि राखेको बताए। सिक्किम सरकारले शिक्षाको क्षेत्रमा गरेको उल्लेखनीय विकासबारे पनि अवगत गराए। अनुसूचित जनजाति समूहको लागि पनि सीट आरक्षण गरेर शिक्षा क्षेत्रमा सहयोग पुऱ्याउँदै सहयोग गरेको अवगत गराउँदै अनुसूचित जातिका लागि गरेको घोषणा बारे जानकारी गराए। सरकारले अनुसूचित जातिको इतिहासलाई अमर राख्न र उनीहरूको पारम्परिक पूर्वाधारको संरक्षण गर्न यसै समष्टिमा नौमती धरोहर केन्द्र बनाउने योजना बनाएको जानकारी गराए। उनले अबोप्रान्त अनुसूचित जातीहरू एक भएर जातीय उत्थान र विकासको लागि एकत्रित भएर काम गर्नुपर्ने दिशामा जोड दिए। आजको यस दसक सांस्कृतिक महोत्सवले जातीय एकता कायम गर्नमा सहयोग पुग्न सक्ने सम्भावना व्यक्त गरे।