खरसाङ: घर घरमा पिउने पानी जडान गर्ने योजना “जल जीवन मिशन” अन्तर्गत खरसाङ महकुमाभित्र पर्ने सिटोङ लाटपञ्जार समष्टिमा आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले २६ करोडको लागतमा पूरा हुने दुईवटा योजनाको विधिवत शिलान्यास गरेका छन्। शिलान्यासको समय जीटीए चिफ् अनित थापाले भने, “पानीको समस्या नारीको व्यथा हो। उनीहरूको व्यथा कतिको छ, उनीहरुलाई नै थाहा छ। अब त्यो व्यथा पनि सकियो यो क्षेत्रमा।”
उनले थप भने, “पर्यटनलाई दिगो राख्नु पानीको मुख्य भूमिका रहेको छ। यो क्षेत्रमा पानी योजनाले पर्यटनलाई अझ टेवा पुर्याउनेछ।”

आफ्नो समष्टिका जनतालाई उनले भने, ” मैले यस समष्टिको सभासद भएर काम गरेको पाँच महिना मात्र भयो। मेरो कार्यकाल सकिन्जेलसम्म दिएको वचन पूरा गर्नेछु। तर तपाईहरुले पनि धैर्य चाहिँ राख्नुपर्छ।”

जानकारी अनुसार घर घरमा पिउने पानीको योजना सिटोङ लाठपञ्जार समष्टीको रोलक खासमल अनि लकुं खासमलका परिवारहरूको निम्ति रु. ९ करोड ८७ लाख रुपियाँको लागतमा पूरा गरिनेछ भने बडा सिटोङ खासमल अनि शेल्फु खासमलमा रु. १७ करोडको लागतमा पिउने पानी जडान गरिनेछ। त्यसरी नै आरआईडीएफ योजना अनुसार लोवर राङचोङ बस्ती हुँदै एस गोलाइदेखि लोहापुलसम्म पुग्ने ६.५० किलो मिटरको बाटोको निर्माण रु ७ करोडको लागतमा हुनेछ।