खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करण मंगलवारदेखि शुरु भयो। खरसाङ नजिक चाँदमारी खेल मैदानमा आज भएको उद्घाटन म्याचमा युनाइटेड दिलाराम फूटबल क्लबले युनाइटेड सिक्किम फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल मिलन राईले पहिलो हाफको १९औं मिनटमा गरे। म्याच हारे पनि युनाइटेड सिक्किम फूटबल एकाडमीका गोलकीपर अमित विश्वकर्मालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने म्याचमा एमएमएफसी निरपानी र युनाइटेड रंगबूल फूटबल क्लबबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।