कालचिनी: साहित्य, कला, संस्कृति साथै खेलकूदको समागम सृजनशील समूहको आयोजनामा तृतीय फूटसल टूर्नामेन्ट आज शुभम प्रधान मेमोरियल फूटसल टूर्नामेन्टको रुपमा कालचिनी आउट डिभिजनको खेल मैदानमा सम्पन्न भयो। सृजनशील समूहको संयोजक अबीर खालिङ, प्रमुख सल्लाहकार आसबहादुर लिम्बु र सागर राई देवानसहित संरक्षक महिपाल सुब्बा एवम् विजेता पुरस्कारदाता किशोर प्रधान र मुन्ना प्रधानको प्रमुख आतिथ्यमा आइतबार बिहान उक्त फूटसल टूर्नामेन्ट शुरु भएको थियो। जम्मा १२ वटा टीमलाई लिएर शुरु भएको उक्त खेलमा अन्ततः एनएसवाईबी गारोपाड़ा बनाम युनाईटेड डिमाबीच रोमाञ्चक फाइनल खेलमा एनएसवाईबी गारोपाड़ा विजेता र युनाईटेड डिमा उपविजेता बनेको थियो।
विजेता टीमलाई नगद ७ हजार रुपियाँ सहित ट्रफी र उपविजेता टीमलाई ४ हजार रुपियाँ नगद सहित रनर ट्रफी प्रदान गरीएको थियो। फाइनल खेलमा पुरस्कार दिन अघि रेफरीहरू क्रमैले सञ्जोग लामा, प्रवीण लामा सुजीत मंगर र बादल लामालाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाईएको थियो। यो बर्ष लगाई तेस्रोपल्ट सृजनशील समूहले फूटसल टुर्नामेन्टको आयोजना गर्न सफल भएको बताउँदै आगामी बर्ष अझै नौलो जोशमा फूटसल टुर्नामेन्टको आयोजना गर्ने समूहको सचिव चन्दन भट्टराईले जनाएका छन्।









