गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सरकार अधीनस्थ कार्यरत एड्हक, एमआर र अनुबंधात्मक कर्मचारीहरूका साथै परिवीक्षाधीन शिक्षकहरूलाई नयाँ वर्षको ठूलो उपहारस्वरुप समान रूपले मातृत्व र पितृत्व अवकासको हकदार बन्ने घोषणा गरेका छन् ।मुख्यमन्त्री तामाङले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस्तो घोषणा गरेका छन्। नयाँ वर्ष २०२३ को शुरूमा यस्तो घोषणा गर्न पाउँदा प्रफुल्लित बनिरहेको बताउँदै अब सिक्कित सरकार अधीनस्थ कार्यरत एड्हक, एमआर, अनुबंधात्मक (कन्ट्र्याक्चुअल) र परिवीक्षाधीन शिक्षक (प्रोबेशनरी) हरू सबैले नियमित सरकारी कर्मचारीहरू समान ३६५ दिन मातृत्व अवकास (महिला कर्मचारी) र ३० दिन पितृत्व अवकाश (पुरुष कर्मचारी) प्राप्त गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्रीको यस्तो घोषणापछि सरकारी कर्मचारीहरूमा खुशीको लहर छाएको छ। कर्मचारीहरूले विभिन्न सामाजिक सञ्जालहरूको माध्यमद्वारा खुशी व्यक्त गर्दै मुख्यमन्त्री तामाङप्रति कृतज्ञता व्यक्त गरिरहेका छन्।










