मंगन: मंगन जिल्लापालकोरूपमा पदभार सम्हालेपछि पहिलो पल्ट जिल्लापाल हेम कुमार छेत्रीले विभागका अधिकारीहरूलाई लिएर पहिलो समन्वय सभा आयोजना गरे। यस अवसरमा विशेष गरेर आगामी दिनमा पालनगरिने ७४औं गणतन्त्र दिवस पालन सम्वन्धि चर्चा परिचर्चा गरे। आज सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल छिरिङ याङदो, महकुमा अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले आफूलाई यसरी स्वागत जनाएकोमा उनले खुशी प्रकट गर्दै कृतज्ञता व्यक्त गरे। उनले मंगन जिल्लालाई राम्रो बनाउनको निम्ति सबै विभागका अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने सुझाउ दिए। कोविड संक्रमण सामान्य भएपछि पहिलो पल्ट सिक्किम राज्यमा राम्रो प्रकारले गणतन्त्र दिवस पालन गर्न गइरहेको हुनाले यसलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति सबैलाई इमान्दारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने आग्रह गरे।

जिल्लापालले महोत्सवबारे आफ्नो सुझाव र धारणा राख्दै सोही विषयमा लाइन विभागसँग अर्को बैठक गर्ने बताए। सभामा ७४औं गणतन्त्र दिवस मनाउनका लागि लाइन विभागहरूलाई कार्यभार पनि सुम्पियो। उनले विभिन्न शैक्षिक संस्थाबाट हुने सांस्कृतिक प्रस्तुति पनि समावेश गर्न सुझाव दिए।