गान्तोकः मुख्यमन्त्री प्रेम सिंह तामाङले ओडिशाको राउरकेलामा शुरू भएको पुरुष हकी विश्वकप २०२३’ मा सहभागी बन्न जाने क्रममा अखिल भारतीय फुटबल फेडरेशन (एआईएफएफ) का अध्यक्ष कल्याण चौबेसँग भेट गरेका छन्। तिनले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्। मुख्यमन्त्रीले यस भेट अवधि चौबेसँग देशमा फुटबल खेलको विकासको निम्ति चर्चा गरेको जानकारी गराएका छन्। तिनले राज्यमा फुटबल खेललाई प्रोत्साहित गर्न र आकाङ्क्षी खेलाडीहरूलाई मञ्च प्रदान गर्न सिक्किम प्रीमियर लिग शुभारम्भ गरिएको अवगत गराए।
तिनले अण्डर १४ र अण्डर १७ उमेर वर्गका केटा र केटीहरूको निम्ति सिक्किममा सेण्टर अफ एक्सिलेन्स विकास गर्ने प्रस्तावको निम्ति एआईएफएफ अध्यक्षलाई धन्यवाद दिए। मुख्यमन्त्रीले धैर्य, कड़ा परिश्रम र समर्पण आत्मनिर्भरता कारक हुन् भन्दै युवाहरूलाई सफल बन्न यी धारणाहरू पालन गर्न आह्वान गरेका छन्। राज्य सरकारले युवाहरूलाई उनीहरूका यात्रामा सहायता गर्ने आश्वासन पनि उनले दिएका छन्।









