गान्तोक: वेहिकल लोकेशन ट्र्याकिङ डिभाइस अनिवार्य रूपमा लगाउनु पर्ने आदेशको सिक्किमका लक्जरी वाहन चालकहरूले विरोध जनाएका छन्। यस उपकरणको दामलाई लिएर उनीहरुले आपत्ति जनाएका छन् ।यस विषयमा दिछेन भोटियाले लक्जरी वाहनहरूमा अनिवार्य रूपमा वेहिकल लोकेशन ट्र्याकिङ डिभाइस लगाउनु पर्ने आदेश जारी गरिएको आज प्रेस सम्मेलनमा बताए। उनले यस उपकरणको दाम तेह्र हजार पाँच सय रूपियाँ रहेको छ।यो सरासर चालकहरूमाथि अन्याय भएको बताए।मुख्यमन्त्री र यातायात विभाग मन्त्रीले भाषणमा चालकहरूको निम्ति राम्रा राम्रा कुरा गरे तापनि यस्तो आदेश लागू गर्दा मन दुखेको छ भनी बताए। उनले चालकहरू १३ हजार ५०० रूपियाँको भारी बोक्न सक्दैनन् भन्दै यो भारी नबोकाइदिन अनुरोध पनि गरे। उनले यो उपकरण अनिवार्य रूपमा लगाउनु पर्छ भन्ने आदेश स्वीकार नगर्ने बताए।चालकहरूले यो उपकरणको दाम सरकारले घटाउनु पर्ने माग गरेका छन्। एक-दुई हजारसम्म हो भने चालकहरूले यसको खर्च उठाउन सक्ने छन्, तर १३ हजार ५०० महंगो भएको गुनासो गरेका छन्। सरकारले चाहेको खण्डमा यो उपकरण निःशुल्क पनि प्रदान गर्न सक्छ भन्ने भनाई उनीहरूको रहेको छ। चालकहरूलाई सहयोग गर्नुको साटो विभिन्न नियमहरू लागू गरेर वाधा दिने काम गरिरहेको आरोप पनि उनीहरूले लगाएका छन्।