सिविटारको बाघमारा बस्तीमा चार दिवसीय कृषि बागवानी मेलाको शुरुवात:

IMG-20230109-WA0324.jpg

जीटीए चिफ् अनित थापा लगायत अन्यहरूलाई सम्बर्ध्दना

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा आजदेखि कृषि बागवानी मेला शुरु भएको छ। पहिलो दिनको मेलामा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाले दीप प्रज्वलन गरेर चार दिवसीय कृषि बागवानी मेलाको उदघाटन गरेका छन्। पहिलो दिनको कार्यक्रमको अध्यक्षता तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। उनले सर्वप्रथम सिविटारदेखि तीनधारेसम्म पुग्ने रोडमा रहेको शिवखोलामा बनिएको स्टिल ब्रिजको उदघाटन गरेका थिए। त्यसपछि उनको बाघमारा बस्तीमा रहेको ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाके परिदर्शन गरेका थिए। यसावधि उनले गुम्बालाई बुद्ध भगवानको मूर्ति प्रदान गरेका थिए भने गुम्बाको प्रमुख लामा स्याङदेन म्हेम्हेको बाहुलीबाट पूजा अर्चना गरी आशिर्वाद लिएका थिए। कृषि बागवानी मेलाको पहिलो दिन म्यूजिक तीनधारेको लाइभ प्रस्तुति रहेको थियो। उक्त टोलीमा गायिका ऋषिका लामा र मोहित भुजेलले कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसरी नै सूचना अनि सांस्कृतिक विभागको कलाकारहरूले पनि सांस्कृतिक अनि सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। पहिलो दिनको कार्यक्रममा जीटीए चिफ् अनित थापालाई बाघमारा बस्ती र गोदामटारको जनताको पक्षमा साथै बाघमारा बस्तीको गुम्बाको पक्षमा पनि सम्बर्ध्दना जनाइएको थियो। उनलाई खदार्पणसहित शल ओढ़ाएर सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै कार्यक्रममा गीतकार एंव विशिष्ट व्यक्ति सुकुमार बराईली, कवि मिलन प्रधान, कराँते खेलमा अन्तर्राष्ट्रीय खेलमा गोल्ड मेडल जित्ने रोजी प्रधान, महिला फुटबल खेलाड़ी शबनम राई, सिक्किम विश्वविद्यालयबाट मास्टर इन् कम्प्युटर एप्लिकेशनमा दुईवटा गोल्ड मेडल प्राप्त गर्ने संजोग प्रधान, डिजाइनर दिशान्त प्रधान लगायत अन्यहरूलाई सम्बर्ध्दना जनाइएको छ। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिपन विश्वकर्मले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापा, स्वास्थ्य विभागको कार्यकारी सभासद अरूण सिंग्ची, खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा, पानीघट्टा सुकना समष्टीको सभासद परेस तिर्की, जीटीएको जनसम्पर्क अधिकारी एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान लगायत विभिन्न विभागीय अधिकारीहरू साथै भागोप्रमो खरसाङ महकुमा समिति, तीनधारे महानदी समष्टिको पदाधिकारीहरू उपस्थित रहेका थिए। यसै कार्यक्रममा तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन एकको बिजेता अभिषेक लकान्द्रीद्वारा स्वरबद्ध रहेको, सुकुमार बराईलीको शब्द र महेश्वर लामाके संगीतमा रहेको गीत पनि लोकार्पण गरिएको छ।उक्त गीतको लोकार्पण कार्यकारी सभासद अनोश थापा अनि सभासद श्याम शेर्पाको बाहुलीबाट गरिएको छ। कार्यक्रमलाई जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापाले सम्बोधन गरेका थिए। कार्यक्रममा कृषि बागवानी, कृषि विभाग र प्राणी सम्पदा विभागको तर्फबाट पनि विभिन्न स्टलहरू राखिएको थियो। कार्यक्रममा तीनधारे महानदी समष्टिको २२ वटै बुथको गरीबी रेखा मुनिका मानिसहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। त्यसरी नै कार्यक्रममा प्राणी सम्पदा विभागको पक्षबाट गाईको बाछा पनि प्रदान गरिएको थियो। स्थानीय कृषकहरू र जनसाधारणको आर्थिक उन्नति गराउन साथै यस क्षेत्रमा पर्यटन व्यवसायलाई अघि बढाएर लैजाने उद्देश्यले चार दिवसीय कृषि बागवानी मेलाको आयोजना भईरहेको छ। कृषि बागवानी मेलाको पहिलो दिनको कार्यक्रम विषयमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पत्रकारहरूलाई कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement