खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारदेखि तीनधारेसम्म पुग्ने रोडको शिवखोलामा निर्मित स्टिल ब्रिजको उदघाटन आज जीटीए चिफ् अनित थापाको उपस्थितिमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको छ। सन् २०२० सालमा अनित थापाको बाहुलीबाट नै शिलान्यास गरिएको उक्त स्टील ब्रिजको उदघाटन आज सम्पन्न भएको छ। सिविटारको बाघमारा बस्तीमा रहेको उक्त स्टील ब्रिजको निर्माण ३ करोड़ ४८ रुपियाँ लागतमा बनिएको छ। प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत सिविटारदेखि तीनधारेसम्म पुग्ने ५.५ किलोमीटरको सड़कमा रहेको शिवखोलामा पुल नभएको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो। अब यहाँ स्टिल ब्रिजको निर्माण कार्य पूरा भएर उदघाटन गरिएपछि स्थानीयहरूलाई धेरै सुविधा हुने भएको छ। सिविटार र बाघमारा बस्ती क्षेत्रका गाउँवासीहरूलाई जीटीए चिफ् अनित थापाद्वारा नयाँ वर्षको उपहारस्वरूप स्टील ब्रिज प्रदान गरिएको छ।

स्टील ब्रिजको उदघाटन कार्यमा जीटीए चिफ् अनित थापासितै जीटीए स्वस्थ विभागको कार्यकारी सभासद अरूण सिंग्ची, खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत विभागीय अधिकारीहरू र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्यहरू, खरसाङ महकुमा समितिको पदाधिकारीहरू, तीनधारे महानदी समष्टिको पदाधिकारीहरू र स्थानीयहरू उपस्थित रहेका थिए। स्टील ब्रिजको उदघाटन कार्यमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले आफ्नो पालोमा विभिन्न क्षेत्रहरूमा स्टील ब्रिजको निर्माण गरेर जनताको सेवामा लागिपरेका बताएका छन्।