दार्जीलिङ: दार्जीलिङकै भूमिपुत्र डा. राकेश तामाङको वैज्ञानिक शोध टोलीले दार्जीलिङ हिमाली क्षेत्रमा बसोबास गर्ने चार जनजाति माथि विभिन्न मापदण्डहरुलाई विचार गरेर शोध गरेका छन्। जुन शोध पत्र अमेरिकन जर्नल आफ ह्युमन बायोलोजीमा भर्खरै प्रकाशित भएको छ। अहिले यो शोध परिणाम राष्ट्रिय स्तरमा नै चर्चाको विषय बनेको छ। यस शोधमा कलकत्ता विश्वविद्यालय, बनारस हिन्दु विश्वविद्यालय, हैदराबादको सेन्टर फर डिएनए फिंगरप्रिन्टीङ एण्ड डाइगोन्स्टिकका शोधार्थीहरू एस दे, दिव्या राई, शिशिर तामाङ, रिञ्छेन डोमा शेर्पा, सोनी सुब्बा, पी. गोविन्दराज, के. थंगराज, ज्ञानेश्वर चौबे अनि पोख्रेबुङ हाई स्कूलबाट डुपछिरिङ लेप्चा पनि रहेका छन्। यसलाई नेतृत्व वैज्ञानिक डा. राकेश तामाङले गरेका हुन्।
दार्जीलिङ हिमाली क्षेत्र धेरै जनजातिहरुको बासथलो भएको हुनाले यस ठाँउबाट लेप्चा, भोटे, शेर्पा अनि तिब्बतीहरू गरेर १७८ जना माथि दस एन्थ्रोपोमेटिक र बायोमेडिकल मापदण्डहरूको अध्ययन गरेको छ। यी जातिहरू उच्च उचाँईमा (हाई अल्टीट्युड) बस्नु पर्ने हुनाले यहाँको चुनौतीपूर्ण चरम हावापानी/जलवायुसित संघर्ष गर्न हेमोग्लोबिन कम र रक्तचाप बढी भएको पत्तो लागेको अध्ययनले देखाएको छ। हिमाली क्षेत्रको रैथानेहरूको शारीरिक बनौट निकै नै बलियो हुने गर्दछ जसको कारण यिनीहरू आफ्नो जीविका चलाउन हजारौ वर्षदेखि प्राकृतिक आपदाहरूसित जुझिरहेका छन्। तिनीहरूको जेनोमिक म्युटेसनको कारण अनुकुलनले प्रचलित कम वायुमण्डलीय अक्सीजन स्तर र चरम चिसो मौसमको उपयोग गर्न सक्षम बनाएको छ। यद्यपी यी जीनहरूले फेनोटाइपलाई कसरी परिमार्जन गर्छन् भनेर अझै पत्तो लगाउन आवश्यक छ। तसर्थ यस टोलीले अध्ययनमा शारीरिक तौल, उचाँई, बीएमआई, रक्तचाप, पल्स रेट, एसपीओटु, हेमोग्लोबीन, हेमाटोक्रीट र रगतमा ग्लुकोजको स्तर जस्ता दस मापदण्डहरू मापन गरेको छ। औसत उच्च उचाँईका रैथानेहरू मध्ये शेर्पा र तिब्बतीहरूको हेमोग्लोबीन मोटामोटी १२जी/डीएल (१४.९ जी/डीएल नियन्त्रण मान) रहेको छ भने तिनीहरूको औसत सिस्टोलिक अनि डायस्टोलिक चाप (प्रेसर) १४२ एमएमएचजी (१२० एमएमएचजी) नियन्त्रण मान) अनि ९४ एमएमएचजी (नियन्त्रण मान ८० एमएमएचजी) रहेको भेटिएको छ। भोटेहरूमा हेमोग्लोबीनको मात्रा सबै भन्दा बेसि देखियो (१४.१३ एमएमएचजी), जसमा लेप्चाहरूको (१३.६ एमएमएचजी) भेटियो। रगतमा तुलनात्मक रुपमा कम हेमोग्लोबीनले उच्च उचाँइमा बस्ने मानिसहरूलाई कम अक्सीजनको प्रयोगलाई अझ प्रभावकारी रुपमा प्रयोग गर्न सक्षम बनाउँदछ भनी यस शोधका प्रमूख लेखक डा० राकेशले जनाएका छन्। अर्का एक वरिष्ठ लेखक डा० ज्ञानेश्वर चौबेले भने अनुसार “अध्ययनले व्यक्तिको सही निदानका लागि जातीय ज्ञान आवश्यक हुन्छ बन्ने कुरालाई समर्थन गर्दछl’’ उनले अझ थपे, शेर्पा उच्च उचाँईमा बस्न सक्ने रोचक जनजाति हो, जो प्रतिकूल वातावारणमा पनि जीवन धान्न सामर्थ छ। यस शोधले मानव जाति कसरी चुनौतीपूर्ण वातावारणमा आफूलाई ढाल्न सक्षम बनेका छन्, कसरी मानव जातिले जीवन धान्नको निम्ति प्रकृतिसित संघर्ष गरिरहेका छन् भनी दर्शाएको छ।