कालचिनी – दुई बर्ष कोरोना महामारीको राहत पश्चात बक्सा ब्याघ्र प्रकल्प तथा बक्सा टाइगर कन्जर्भेशन फाउन्डेशन ट्रस्टको आयोजनामा शुक्रबार अपरान्ह समयदेखि छैठौँ बक्सा बर्ड फेस्टिभल २०२३ को शुभोद्घाटन भयो। उक्त अवसरमा आज राजाभातखावा स्थित नेचर इन्टरप्रिटेशन सेन्टर (एनआईसी) हलमा तीन दिवसीय बर्ड फेस्टिभलको दीप प्रज्वलनमा प्रमुख अतिथिको रुपमा उत्तरबंगालका अतिरिक्त पीसीसीएफ उज्वल घोष लगायत बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरेक्टर अपूर्व सेन, अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार, उत्तरबंगाल उन्नयन पर्षदका भाइस चेयरम्यान मृदुल गोस्वामी डीएफडी प्रवीण कासवान एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा तीन दिवसीय बर्ड फेस्टिभलमा सहभागी बन्न आईपुगेका प्रायः २२ जना बर्ड वाचर्सहरू एवम् १८ जना गाइड्स र बनकर्मीहरूलाई उपस्थित अतिथिहरूले स्वागत जनाउँदै बर्ड वाचिङको अग्रिम शुभकामना दिएको थियो। बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरेक्टर अपूर्व सेनले बक्सा जंगलमा मात्र प्रायः ४०० भन्दा अधिक चरा चुरंगीहरूको प्रजाति विगतको अध्यनले पुष्टि गरेको र अझै फेरि नयाँ प्रजातिको चराको पनि यो तीन दिवसीय बर्ड फेस्टिभलमा पाइने बारेमा आफूहरू आशावादी रहेको जनाएका छन्। आज यसै क्रममा आतिथ्य स्वीकार गरेर आइपुगेकी प्रसिद्ध हात्ती विशेषज्ञ असमको पार्वती बरुवाले पनि राजाभातखावा आउने मौका जुरेकोमा हर्ष व्यक्त गर्दै प्रकृति संरक्षणको सन्देश दिएकी थिईन। विगत दुई बर्ष कोरोना महामारीको कारण बक्सा बर्ड फेस्टिभल गर्न नसकिएको र यसपाली छैठौँ बक्सा बर्ड फेस्टिभलको आयोजना आजदेखि गरीएको र यसमा सब मिलाई प्रायः ४० जनाले आजदेखि राजाभातखावा एनआईसीमा शिविर हालेको र फोटोग्राफर बर्ड वाचर्सहरूको निम्ति ६ वटा रुटहरू तयार पारिएको र यसले अवश्यै राम्रो अनुसन्धान हुने आशा फील्ड डाइरेक्टर अपूर्व सेनले व्यक्त गर्दै यसको अनुभव र परिणाम आगामी ९ जनवरीको दिन साझा गरिने जनाएका छन्।