सिलगढी: महाराष्ट्रको नासिकमा एकजना व्यक्तिले पाँच महिना अघि आत्महत्या गरेको मामिला प्रकाशमा आएको थियो।यस घटनाको जाँच गर्दै पाँच महिनापछि महाराष्ट्र पुलिसले सिलगढीबाट मृतकको स्वास्नी र सासुलाई पक्राउ गरेको छ। पुलिस द्वारा पक्राउ गरिएकोहरुमा मृतककी स्वास्नी पुजा छेत्री र सासु सविता छेत्री सामेल छन्। महाराष्ट्र पुलिसले सिलगढीबाट ती दुईजनालाई पक्राउ गरेपछि अदालतमा पेश गरेको छ। तिनीहरुलाई आज ट्रान्जिट रिमान्डमा लिएर नासिक प्रस्थान गर्यो। प्राप्त जानकारी अनुसार महाराष्ट्रको नासिक निवासी योगेश नारगेरको सोशल मीडियाको माध्यमद्वारा पुजा छेत्री नाम गरेको युवतीसित परिचय भयो यसको केही दिनपछि ती दुईको परिचय प्रेम सम्बन्धमा परिणत भएपछि गत वर्ष ५ जुनमा योगेश र पुजाले नासिकमै बिहे गरेका थिए। बिहे गरेको केही महिनापछि ती दुईमाझ मनमुटाव शुरू भएपछि वाक्क दिक्क भएर योगेशले ३० सेप्टेम्बरमा नासिकस्थित आफ्नो घरमा आत्महत्या गरेको बताइएको छ। यो घटनापछि पुजा र तिनको आमा सबिता नासिकबाट सिलगढी आएर बस्न थालेको थियो। योगेशले अचानक आत्महत्या गरेकोमा तिनको परिवारका सदस्यहरूलाई सन्देह लागेपछि योगेशको आमा-बाबुले पुजा र सबिताविरुद्ध महाराष्ट्र थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका महाराष्ट्र थाना पुलिस गत राति सिलगढी आइपुगेपछि सिलगढी मेट्रोपोलिटन पुलिसको सहयोगमा पुजा र तिनको आमा सबिता छेत्रीलाई पक्राउ गरे। पुजा र तिनको आमा सबिता छेत्रीले योगेशलाई आत्महत्या गर्न बाध्य गरेकोबारे महाराष्ट्र पुलिसले मामिला दर्ता गरेको छ।











