वर्तमान सरकारमाथि सिक्किममा ‘जब सिण्डिकेट’ चलाइरहेको आरोप

dal-1581779468.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमका पूर्व अध्यक्ष डी. बी. चौहानले वर्तमान सरकारमाथि सिक्किममा ‘जब सिण्डिकेट’ चलाइरहेको आरोप लगाउॅंदै यसलाई सरकारले तुरून्तै बन्द गर्नुपर्छ भनी बताएका छन्। उनले आज जारी प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘वर्तमानमा सिक्किम राज्यमा बढ्दो बेरोजगारको समस्या एउटा ठूलो मुद्दा बन्न गइरहेको छ। अहिले सिक्किम राज्यमा बेरोजगारी दर देशमै उच्च रहेको कैयौं सर्वेक्षणहरूले पुष्टि गरिसकेका छन्। अर्कोतिर राज्य सरकारकोमा सरकारी नोकरीमा निष्पक्ष र पारदर्शी भर्ना नीति नभएको कारण सानो नोकरीको निम्ति पनि मन्त्री-मुख्यमन्त्रीको सिफारिशको निम्ति दिन-रात भट्किनुपरिरहेको अवस्था छ। यस्तो सिफारिशी भर्ना प्रक्रियाले एकातिर योग्य शिक्षित युवाहरूले आफूले चाहेजस्तो रोजगार पाउनबाट वञ्चित भइरहेका छन् भने सिफारिश गर्नेहरूले केवल आफ्ना वरिपरिका, चिने-जानेका र पार्टीका समर्थकहरूलाई मात्र पछिल्लो दैलोबाट भटाभट नोकरीमा लगाइरहेको छ जसले राज्यको स्वाभीमानी अनि योग्य शिक्षित युवाहरूको एउटा ठूलो तप्का सरकारी नोकरीबाट वञ्चित हुनुपरिरहेको छ।’

उनले अझ भनेका छन्, ‘अहिले सिक्किममा रोजगारको अभाव छ भने एउटा ‘जब सिण्डिकेट’ पनि चलिरहेको छ, जहाँ सरकार पक्षका एक-दुईजनालाई पक्रँदा नोकरी पाउने, पदोन्नति हुने, आफ्नो काम बनिने जस्ता कार्य भइरहेको छ भने वास्तविक भर्ना प्रक्रिया एकदमै घटेर गएको छ। यो सरकारले जसरी ‘जब सिण्डिकेट’ चलाईरहेको छ यसले भविष्यमा गएर एउटा भयानक रूप लिने निश्चितप्रायः छ। यसलाई सरकारले तुरून्तै बन्द गर्नुपर्छ।’

अर्कोतिर, सिक्किममा सत्ता परिवर्तन भएपछि एउटा ठूलो तप्काले ‘पोलिटिकल इम्प्लोइमेण्ट’ पाएको बताउॅंदै उनीहरूले आफ्नो राजनीतिक मुखियालाई खुशी बनाउने, बिहानदेखि बेलुकासम्म सामाजिक सञ्जालहरूमा आफ्ना विरोधीहरूलाई गाली गर्ने गरेको बताएका छन्। उनले राज्यमा सत्ता परिवर्तन भएपछि अन्य पार्टीहरूबाट ‘पोलिटिकल इम्प्लोइमेण्ट’ को लागि सत्तारूढ़ पार्टीमा सामेल हुने क्रम पनि जारी रहेको बताएका छन्।

चौहानले भनेका छन्, ‘सरकारसँग आफ्ना समर्थकहरूलाई धरि आत्मनिर्भर बनाउने कुनै ठोस स्वरोजगार नीति र कार्यक्रम छैन। उनीहरू केवल मुख्यमन्त्री र मन्त्रीहरूले दिने गोजीखर्चको भरमा चलिरहेका छन्। हिजो पूर्व सरकारमा पनि यस्तै एउटा ठूलो तप्का थियो जो आज सत्ता परिवर्तन भएपछि राजनीतिक बेरोजगार बनेर बसेको छ र भोलि अर्को कुनै पार्टीको सरकार आयो भने आजको यो तप्का पनि पुनः बेरोजगार बन्ने कुरामा दुईमत छैन।’ उनले सरकारसँग आफ्ना समर्थकहरूलाई धरि आत्मनिर्भर बनाउने कुनै ठोस स्वरोजगार नीति र कार्यक्रम छैन भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement