गान्तोक: सिक्किम फिल्म प्रमोशन बोर्डको बैठक आज बोर्डकी चेयरपर्सन पूजा शर्माको मनन केन्द्रस्थित कार्यालयमा बस्यो। चेयरपर्सन श्रीमती शर्माको अध्यक्षतामा बसेको बैठकमा आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, आईपीआर विभाग र बोर्डका अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
यस बैठकको मुख्य मुद्दा सिक्किम फिल्म उद्योगको विकासका साथै वित्तीय वर्ष २०२२-२३ को निम्ति कार्य योजनाहरूमाथि चर्चा गर्नु रहेको थियो। बैठकमा बोर्डको कामकाजमा सुधार ल्याउने अनि राज्यका फिल्म निर्माताहरूलाई समर्थन जनाउने विषयमा विस्तारपूर्वक चर्चा गरियो। बोर्डले फिल्म निर्माता र फिल्म उद्योगलाई बढावा दिन, प्रशिक्षण प्रदान गर्न र समर्थन गर्ने सम्बन्धमा केही गतिविधिहरूको सूची पनि तयार गरेको बताइएको छ। बोर्डले चलचित्र नीतिमा सुधार गर्ने र सामाजिक जागरूकता सम्बन्धित छोटो भिडियोहरू तयार गर्ने बताएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमलाई देश-विदेशकै एउटा महत्वपूर्ण चलचित्र निर्माण गन्तव्यको रूपमा विकास गर्नु, स्थानीय कलाकारहरूलाई प्रोत्साहित गर्नु, आफ्नै क्षेत्रीय सेन्सरशिप बोर्ड तयार गर्नु, चलचित्र निर्माण सम्बन्धित पूर्वाधारहरूको विकास गर्नु र इको-हेरिटेज फिल्म सिटी निर्माण गर्नु सरकारका प्रमुख लक्ष्यहरू रहेको बताइएको छ।










