सिलगढी: विश्व नेपाली साहित्य महासङ्घले भव्य अनलाइन वैश्विक समारोह गरी नेपाली भाषाका उन्नायक, व्याकरणकार र साहित्यकार पारसमणि प्रधानको १२५औँ जन्मजयन्ती नववर्षारम्भमा पालन गऱ्यो। यस दिन टोपी दिवस पनि परेको थियो। विनेसाम-का केन्द्रीय अध्यक्ष सुरेन्द्रकुमार लिम्बू परदेशीको सभापतित्वमा भएको भूमण्डलीय समारोहमा डा. जस योञ्जन प्यासी प्रमुख अतिथि थिए भने सिलगढी देवकोटा सङ्घका अध्यक्ष तथा भारतीय आयकर आयुक्त मिलन रुचाल, रेटरियन, फिलाटेलिस्ट, आशु उत्तर प्रतियोगिताका प्रसिद्ध प्रश्नकर्ता, समाज सेवक पारसमणि शोध पुस्तकालयका अधिपति उदयमणि प्रधान, सिक्किम केन्द्रिय विश्वविद्यालयका सहायक प्राध्यापक डा. बलराम पाण्डे, नरबहादुर भण्डारी सरकारी महाविद्यालय तथा कञ्चञ्जङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डा. टेकबहादुर छेत्री, हिमालय दर्पणका सहसम्पादक शिबु छेत्री विशिष्ट अतिथि थिए।
विनेसाम-की केम्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले इज्रायलबाट सभारम्भ गरेपछि खरसाङकी सदस्या सुनिता मग्रातीले सभा सञ्चालन गरिन्। ताइवानका प्राध्यापक डा. लेखनाथ काफ्लेले स्वागत भाषण राख्दै पारसमणिको १२५औँ जन्म दिवसले विश्वकै नेपाली भाषीलाई गर्वित तुल्याए बताए। मुख्य अतिथि प्यासीले नेपाली भाषा शिक्षा र मान्यता अभियानमा पारसमणि प्रधान अतुलनीय व्यक्ति हुन् भन्दै आफ्नो अस्वस्थ अवस्थामा पनि समारोहमा सहभागी हुन पाउनु आफ्नो सौभाग्य हो भने। पारसमणि परिवारका जनप्रिय सदस्य उदयमणि प्रधानले नेपाली शिक्षामा प्रश्रय दिएकै भए पनि सातजनामा तीनजना छोरालाई कालेबुङका ग्राहम बाजेले दिएको अवसरबाट लाभ उठाएर अङ्ग्रेजी शिक्षामा प्रेरित गरीकन नेपाली भाषा र साहित्यलाई अङ्ग्रेजीबाट वैश्विक स्तरमा प्रचार गर्नलाए भन्दै आफू पनि यसै काममा लागिपरेको जनाए। बाजे पारसमणिको परामर्शमा नेपाली पुस्तकको शुद्ध मुद्रण अनि भारती पत्रिकाको प्रकाशनलाई ध्यानमा राखेर २०२२-मा एक सय वर्ष पुगेका बाबु नगेन्द्रमणि प्रधानले १९४८-मा आरम्भ गरेको मणि प्रिण्टिङ प्रेस २०२३-मा ७५ वर्ष पुगेको अवगत गराए अनि वर्ष २०२२-मा बाबुको सय वर्ष मनाएपछि २०२३-मा आफ्नो बाजेको १२५औँ जयन्ती र प्रेसको ७५औँ वर्ष मनाइरहेको जानकारी दिए। उनले अध्ययनसायी शोधार्थीका लागि आफ्नो शोध पुस्तकालय उपयोग गर्न स्वागत छ पनि भने।
डा. टेकबहादुर छेत्रीले पारसमणिले नेपाली व्याकरणको मानकीकरणमा दिएको अवदानबारे चर्चा गर्दै अहिले व्याकरणको विकसित धारा पछ्याउनेहरू पनि उनीप्रति कृतज्ञ रहनुपर्ने कुरा राखे।
काशी हिन्दू विश्वविद्यालयका प्रो. दिवाकर प्रधानले पारसमणिको बहुआयामी व्यक्तित्व र कृतित्वबारे सारगर्भित वक्तव्य प्रस्तुत गरे। डा. बलराम पाण्डेले पारसमणि प्रधानलाई अनुपमेय ठान्दै ‘भूतो न भविष्यति’ भने। धरानका भीम विरही राई, दिल्लीकी डा. नाज सिंह, अमेरिकाकी रीतादेवी प्रधान, नेपालकी कल्पना पौड्याल, इटहरीका कृष्णप्रसाद गौतम, बेलायतबाट विजय हितान, सिक्किमका विलोक शर्मा आदिले सिर्जना वाचन गरे। सभाध्यक्षको आसनबाट बोल्दै सुरेन्द्र लिम्बू परदेशीले पारसमणि प्रधानको १२५औँ जयन्ती विनेसाम-ले सफलतापूर्वक सम्पन्न गर्नु एउटा सौभाग्य रहेको बताए।