बिनय तामाङले दिए अखिल भारतीय तृणमूल कांग्रेसबाट राजीनामा

दार्जिलिङ: जीटीएको सभासद एवं तृणमूल कंग्रेसको नेता बिनय तामाङले आजदेखि तृणमूल कांग्रेसबाट राजीनामा दिएका छन्। आज दार्जिलिङ नगरपालिकाको लागि फ्लोर टेस्टपछि प्रेस विज्ञप्ति जारी गर्दै बिनय तामाङले आफु आजदेखि तृणमूल कांग्रेसबाट राजीनामा दिएको र आजदेखि तृणमूल कांग्रेसमा नभएको घोषणा गरेका छन्। बिनय तामाङले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘२२ नोभेम्बर, २०२२ मा मैले लिएको राजनैतिक अडानमा अडिग रहन्दै म विनय तामाङ अखिल भारतीय तृणमुल काँग्रेसबाट आफुलाई आजदेखि अलग राख्दछु। अब उसो अखिल भारतीय तृणमुल काँग्रेस अनि दार्जिलिङ हिल तृणमुल काँग्रेसले म अनि मेरो नामलाई आफ्नो पार्टी कार्यक्रमहरूमा नजोडी दिने आग्रह गर्दछु। अखिल भारतीय तृणमुल काँग्रेस पार्टीले ममाथि कुनैपनि अनुशासनात्मक कार्यवाही लिए म सहर्ष स्वीकार गर्नेछु।’
बिनय तामाङले आफ्नो प्रेस विज्ञप्तिमा अघि भनेका छन् -‘मसित जोडिएका सबै दाजुभाई दिदी बहिनीहरूलाई मैले लिएको राजनैतिक निर्णयले अवश्य नै केही न केही सकारात्मक वा नकारात्मक असर त पर्ला – यदि नकारात्मक असर परे जातिको स्वाभिमान, अस्तित्व अनि चिन्हारी साथै दार्जिलिङ पहाडमा गणतन्त्र बचाउनको खातिर क्षमा गरिदिने म निवेदन गर्दछु। आजसम्म जस-जसलेपनि मलाई कुनैपनि माध्यमबाट सहयोग र साथ दिए वहाँहरू सबै सबैलाई हार्दिक धन्यवाद टक्राउँदछु। भविष्यमा म पनि वहाँहरूले ममाथि लगाएको ऋणलाई मूल्याङ्कन गर्दै अवश्य फर्काइदिनेछु।’
तामाङले अघि भने – ‘मेरो सोच, अवधारणा, विचारधारा अनि सिध्दान्तलाई यदि कसैलाई पनि सठीक लागे आउँदो दिनहरूको राजनैतिक यात्राको निम्ति प्रतीक्षा साॅचिदिने म विनम्र निवेदन गर्दछु।
आजको मेरो निर्णय वापत बंगालले भारा अनि पैँचोमा दिएको चौकीमा म बस्ने छुइन्। मलाई मेरो जातिले मेरो पहाड तराई र डुवर्सले दिएको पीरामा नै म आनन्दित हुनेछु। अर्काले दिएको झुठो भाँडामा भन्दा हाम्रै नेभारा र केराको पत्ताको टपरा नै शुद्ध हुन्छ। मेरो जीवनको अन्तिम प्रहर म मेरो दार्जिलिङ पहाड, तराई, डुवर्स अनि मेरो गोर्खाजातिलाई आजदेखि समर्पित गर्दछु। बंगाल सरकार अनि तृणमुल काँग्रेस पार्टीले दार्जिलिङ पहाडमा भइरहेको गणतन्त्रको हनन र व्यापक भ्रष्टाचारमाथि आउँदो दिनहरूमा कस्तो निर्णायक भुमिका रहन्छ वा कुन प्रकारको हस्तक्षेप गर्नेछ – म त्यसको प्रतीक्षामा छु। चाँडोभन्दा चाँडो यस अति गम्भीर र संवेदनशील विषयहरूमा हस्तक्षेप गरियोस् भनी यसै प्रेस विज्ञप्तिमार्फत् मुख्य ममता व्यानर्जीलाई अनुरोध गर्दछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement