भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब (एनवाईसी), सेभोकले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। कालीझोड़ा फूटबल मैदानमा मंगलवार भएको पहिलो सेमिफाइनल म्याचमा एनवाईसी-ले शक्ति संघ, कालीझोड़ालाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब बुधवार हुने दोस्रो सेमिफाइनलमा मनजीत इलेभेन (मिलनमोड़) र सिलगढ़ीको सेलेसियन कलेजबीच भिड़न्त हुनेछ। फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।