खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा जातीय कवि अगमसिंह गिरीको ९५औं जन्म जयन्ती पालन गरिएको छ। साहित्य कला संस्थान तीनधारेको आयोजनामा गिरी जयन्ती सम्पन्न भएको छ। संस्थानको उपाध्यक्ष दिपक प्रधानको अध्यक्षता र भूतपूर्व शिक्षक प्रकाशमणि प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न गिरी जयन्ती कार्यक्रमलाई गीतकार सुकुमार बराईलीले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा सभाध्यक्ष, प्रमुख अतिथि र अन्यको बाहुलीबाट कवि अगमसिंह गिरीको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण संस्थानको मूल सचिव सन्तोष लामाले राखेका थिए। कार्यक्रममा मञ्जु शर्मा, अनिल विद्रोही, सुकुमार बराईली, चन्दु भुसाल आदिले कविता पठन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको सम्भाषणमा भूतपूर्व शिक्षक प्रकाशमणि प्रधानले साहित्य कला संस्थान तीनधारेको आयोजनामा सम्पन्न गिरी जयन्ती कार्यक्रममा निमन्त्रणा दिएकोमा आभार प्रकट गर्दै यस्तो कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले आफु तीनधारेदेखि बाहिर भएकोले साहित्य कला संस्थानको आयोजनामा हुने कार्यक्रममा उपस्थित हुन नपाएको तर संस्थानले गरेको हरेक कार्यक्रमहरू असल प्रकारको रहेको पनि बताएका छन्। कार्यक्रममा सभाध्यक्षको रूपमा दिपक प्रधानले जातीय कवि अगमसिंह गिरीले हामीलाई जातीय माया र जातित्वको कुरा गर्न सिकाएको बताउँदै तर हामी अहिले जातिप्रति इमान्दार नभएको जातिप्रति झुकाव नभएको बताएका छन्। उनले कवि गिरीले देखाएको पथमा हिँड़ेर जातीय एकता कायम गर्नु पर्ने आह्वान् गरेका छन्।