राजनैतिक दलको अध्यक्षले आयोजना गरेको कुनै पनि कार्यक्रम राजनैतिक कार्यक्रम नै हुन्छ: अनित थापा

दार्जिलिङ: दार्जिलिङको घुम जोरबंगलो समष्टिको तुङसुङ प्राथमिक शिक्षा केन्द्रको शिलान्यास कार्यक्रमको मञ्चबाट अनित थापाले हुंकार दिए घरी समाज सेवी, घरी नेता बनेर आफैलाई चिन्न नसक्ने नबन्नुहोस्। राजनैतिक दलको नेताले गरेको प्रत्येक काम नै राजनैतिक हुन्छ भनी बताएका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड्को नाम नै नलिई उनले भने, “राजनीति गर्नु हुन्छ भने राजनैतिक तरिकाले नै सबै मुद्दाको समाधान खोज्नुपर्छ। राजनैतिक काम सामाजिक सेवाको आडमा गर्ने अहिले दार्जीलिङमा एउटा समूहले गर्दैछ। राजनैतिक पार्टीको अध्यक्षलाई जनतालाई भ्रममा राख्ने यस्तो कार्य गर्नु सुहाउँदैन।”
हाम्रो पार्टीको सभासद अनि पार्षदहरुले भागोप्रमोमा सामेल भएपछि हाम्रो पार्टीले अनित थापामाथि धेरै आरोप लगाएका थिए। त्यही आरोपहरुमाथि बोल्दै अनित थापाले भने, “हाम्रो पार्टीको काम मन नपराएर त्यहाँका पार्षदहरू अनि सभासदहरू हामीसँग जोडिनु भयो। यो जोडिने विरुद्ध उनीहरूले उच्च न्यायालयमा मुद्दा पनि ठोके। कोर्टले केसलाई खारेज गरिदियो। हामीले प्रजातान्त्रिक रूपमा नै काम गरेका थियौं।”
हाम्रो पार्टीको समाज सेवा राजनैतिक फाइदाको निम्ति हो भन्दै उनले भने, “हाम्रो पार्टीले एनजीओहरुलाई भ्रममा राखेर काम गर्दैछ। राजनैतिक दलको अध्यक्षले आयोजना गरेको कुनै पनि कार्यक्रम राजनैतिक कार्यक्रम नै हुन्छ।”
उनले हाम्रो पार्टीको गतिविधिमाथि टिप्पणी गर्दै भने, “नौ महिना नगरपालिका चलाउने हाम्रो पार्टीले भत्केको क्यापिटल हल नदेख्ने। तर अहिले जाने बेलामा भत्केको देख्दैछ।”
अब पहाडको जनता सचेत रहेको बताउँदै उनले भने, “पहाडको राजनीतिलाई अब गाउँ, कमान, बजारले बुझी सकेको छ। हारलाई स्वीकार गर्नु सक्नुपर्छ। हार स्वीकार गर्नु नसकेर नै अहिले प्रोटेस्ट रैली गर्छु भन्दैछ।
मोबाइलमा राजनीति गर्नेको राजनीति, मोबाइलमा नै सकिन्छ। अरु कमान खोलिन्दैछ। चुङथुङ कमान पनि खोलिनेछ।”

घुम जोरबङ्लो समष्टिमा अवस्थित तुङसुङ प्राथमिक शिक्षा केन्द्रको शिलान्यास जीटीएका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट भएको छ।
जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले जानकारी दिँदै भने, “यो पाठशालाले स्थानीय विद्यार्थीहरूलाई धेरै ठूलो सहयोग पुर्याएको छ। यो विद्यालय एमएसके पाठशाला हो। यो पाठशाला नभएको भए विद्यार्थीहरू घूम जानुपर्थ्यो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement