विभिन्न कार्यक्रमलाई लिएर आरबीआईको बैठक सम्पन्न

IMG-20221224-WA0406.jpg

गान्तोक: भारतीय रिजर्भ ब्यांक गान्तोकद्वारा २२ दिसम्बरको दिन पश्चिम सिक्किम अन्तर्गत सोरेङमा एमएसएमईमाथि नगरभवन सभा आयोजन गरियो। सभाको अध्यक्षता भारतीय रिजर्भ ब्याङ्क, गान्तोकका महाप्रबन्धक एवं प्रभारी किशोर परियारले गरेका थिए। सभामा डीआइसी जोरथाङका अधिकारीहरूका अतिरिक्त भारत सरकारको एमएसएमई-डीएफओ, सिडबी, शीर्ष ब्याङ्क, ब्याङ्क शाखा, सीड (सिक्किम उद्यमिता एवं आर्थिक विकास) प्रकोष्ठ, ऋण परामर्श संस्थानका प्रतिनिधहरू लगायत उद्यमीहरू उपस्थित थिए। आफ्नो सम्बोधनमा सिडबीका प्रभारी प्रबन्धक रितविज शर्माले प्रायोजित मुद्रा, स्ट्याण्ड अप इण्डिया तथा राष्ट्रिय पशुधन मिशन जस्ता सरकारद्वारा प्रायोजित योजनाहरूबारे चर्चा गरे। यसका साथै सूक्ष्म एवं लघु उद्योगका लागि ऋण प्रत्याभूति निधि न्यास (सीजीटीएमएसई) अन्तर्गत प्राप्त गर्नसकिने सुविधाहरूबारे पनि उनले अवगत गराए। यसै क्रममा एमएसएमई-डीएफओका संयुक्त निर्देशक अमितकुमार तमरियाले एमएसएमई समूह विकास कार्यक्रमका साथै समूहका (कम्तिको पनि १० एमएसएमई एकाइ) लागि योजना अन्तर्गत प्राप्त हुने लाभहरूबारे जानकारी दिए। विभिन्न सरकारी सहायता प्राप्त गर्न उद्यम पञ्जिकरण कार्यक्रम अन्तर्गत आफ्नो एकाइ पञ्जिकृत गराउन पनि तमरियाले उद्यमीहरूलाई अपील गरे। डीआइसी जोरथाङका इभान गुरुङले सिक्किम सरकारद्वारा उद्यमीहरूका लागि चलाइरहेको कौशल युवा स्टार्ट अप योजना (एसवाईएसएस) जस्ता ध्वजवाहक कार्यक्रमबारे जानकारी दिँदै उद्यमीहरूका शङ्का निवारण गरे। ऋण परामर्श संस्थानका सञ्जीब देवले यस प्रकारको सभा आयोजन गरेकोमा आरबीआइप्रति आभार व्यक्त गरे। यसका साथै विभिन्न एमएसएमई सम्बन्धी योजना अन्तर्गत ऋण सुविधा प्राप्त गर्न समुचित दस्तावेजीकरणको निम्ति उद्यमीहरूलाई विशेषज्ञ परामर्शका अतिरिक्त हातेमालो गर्न आवश्यक रहेको पनि उनले बताए। आफ्नो सम्बोधनमा आरबीआइका महाप्रबन्धक किशोर परियारले एमएसएमई क्षेत्रका विभिन्न पक्षका साथै प्रधानमन्त्री रोजगार प्रत्याभूति कार्यक्रम अनि उद्यमीहरूलाई प्रदान गरिने अन्य प्रकारका ऋण सुविधाहरूबारे प्रकाश पारे। ऋण, महसुलको सम्बन्धमा सरकारी सहायता प्राप्त गर्ने तरिकाबारे जानकारी दिँदै समयमा ऋण वितरण सुनिश्चित गर्ने तरिकाबारे पनि अवगत गराए। एमएसएमई क्षेत्र अन्तर्गत खुद्रा व्यापारलाई पनि सामेल गरिएको र सम्पूर्ण स्टार्टअप परितन्त्रको आर्थिक विकासको सन्दर्भमा यसको सम्भावना व्यापक रहेको पनि उनले बताए। यसका साथै सीबीआइ, सोरेङ शाखाबाट सरकारद्वारा प्रायोजित विभिन्न योजना अन्तर्गत अनुमोदित ऋणको चेक पनि उनले उद्यमीहरूलाई वितरण गरे। आरबीआइ गान्तोकको तत्वावधानमा एमएसएमई उद्यमीहरूका लागि विभिन्न योजनाबारे जानकारी दिने हिसाबले तयार सडक नाटक पनि यस अवसरमा प्रस्तुत गरियो भने दर्शकहरूले नाटकको माध्यमद्वारा प्रसारित सन्देश आत्मसात गरे। (पीआइबी)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *