गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोलेले आज सोरेङ जिल्लाको दोडकमा आयोजित एक कार्यक्रममा २५ लाभार्थीहरूलाई दुध दिने गाई र बाछाहरू वितरण गरे। कार्यक्रममा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, खण्ड विकास अधिकारी एसके शर्मा लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै विधायक अदित्य गोलेले सबै लाभार्थीहरूलाई विभागको यस योजनाबाट लाभ उठाउनु पर्ने आग्रह गरे।
उनले यस दिनलाई समग्र समुदायको विकास र समृद्धितर्फ अघि बढाउने पाइला भएकाले यो दिन महत्वपूर्ण भएको बताए। यसका साथै उनले राज्यका पछौटे जनजाति समुदायका लागि यस्ता विकास योजनाहरू उपलब्ध गराउन भर्खरै स्थापना भएको सोरेङ जिल्ला छनोट गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार प्रकट गरे। उनले लाभार्थीहरूलाई आर्थिक आत्मनिर्भरता प्राप्त गर्नका लागि उनीहरूलाई उपलब्ध गराइने सहायता/सुविधाहरू दिगो बनाउन उत्पादक पहल गर्न प्रोत्साहित गरे।








