गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको खेल मैदानमा आज प्रि लोसुङ नामसुङ पर्व भव्यरूपमा पालन गरियो। गत १० दिसम्बरेदखि शुरू भएको यस पर्वको आज समापन कार्यक्रममा क्षेत्र विधायक जीटी ढुङ्गेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आजको यस कार्यक्रम अन्तर्गत पत्रकारहरूसँग कुराकानी गर्दै विधायक ढुङ्गेलले यस क्षेत्रमा आफू विधायक भएपछि प्रत्येक वर्ष विभिन्न जातिको पर्व पालन गर्दै आइरहेको बताए। सबै समुदायको पर्वलाई बराबर मान्यता दिँदै विभिन्न प्रकारको कार्यक्रम पालन गर्दै आइरहेको जानकारी गराए। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिम राज्यमा बसोबासो गर्ने सबै समुदायको पर्वलाई पालन गर्दै आइरहेको उनको भनाइ रहेको छ। आगामी दिनमा पनि यस प्रकारको कार्यक्रम भव्यरूपमा पालन गरिने उनले जानकारी गराए।सोही प्रकारले आयोजक समितिका अध्यक्ष छेवाङ रिञ्जिङ भोटियाले गत १० दिसम्बरदेखि पालन गर्दै आइरहेको यस पर्व अन्तर्गत विभिन्न प्रकारको कार्यक्रम आयोजना गरिएको अवगत गराए। विशेष गरेर मुख्य आकर्षणकोरूपमा फुटबल खेल रहेको थियो। सबै जातिको पर्वलाई समानरूपमा लिएको हुनाले अहिले यस क्षेत्रमा सबै जातिले आफ्नो पर्व खुलेर पालन गर्दै आइरहेको उनको भनाइ रहेको छ। आजको यस कार्यक्रम अन्तर्गत विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।