सिलगढ़ीको डागापुर मर्निंग क्लब (डीएमसी)-को तत्त्वावधानमा आयोजित दुईदिने नक्आउट भेटरन्स (४० प्लस) फूटबल टुर्नामेण्टमा पहिलो दिन चारवटा म्याच खेलियो। यी चारवटा म्याचपछि आयोजक डीएमसी, रोयल एफसी भेटरन्स, डुवर्स राइनो भेटरन्स र गितडाब्लिंग भेटरन्सले सेमिफाइनलमा स्थान बनायो। दार्जीलिङ मोड़ नजिक डागापुर फूटबल मैदानमा शनिवार भएको पहिलो म्याचमा डीएमसी भेटरन्सले युनाइटेड लिम्बु बस्ती भेटरन्सलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा रोयल एफसी भेटरन्सले मिलनमोड़ भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। तेस्रो म्याचमा डुवर्स राइनो भेटरन्सले दार्जीलिङ भेटरन्सलाई २-०-ले पराजित गऱ्यो। चौथो म्याचमा कालेबुङ भेटरन्सको टीम नआउँदा गितडाब्लिंग भेटरन्सले वक्ओभर पाएर सेमिफाइनलमा स्थान बनायो।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल र फाइनल १८ दिसम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई मदन छेत्री स्मृति विनर्स ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई हनुमान दास अग्रवास रनरअप् ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष टुर्नामेण्टमा रोयल एफसी भेटरन्सको टीम च्याम्पियन भएको थियो भनी आयोजक डागापुर मर्निंग क्लबका सचिव अमल खवासले जानकारी दिएका छन्।










