रातपछि दिन   

00-1-Raatpachhi-Din

   

माछाको आँसु 

नदीले लुकाएझैँ लुकाइराखेको  

उसको अभिमान बौरिन्छ र भन्छ कहिलेकाहीँ –

‘फुलहरू फुलुन् नफुलुन्-  हेर्दिनँ

तुषारोले भिजाओस् नभिजाओस् मनको बलेँसी भो हेर्दिनँ  

एक फ्वाँक नक्कली जुनेली लिएर साट्दिनँ अब

मनका अनगन्ती निस्पाप माछाहरू…

बल्छी थापेर धेरै खेल्यो त्यसले उसका निमुखा माछासित 

उसको मनको भित्तामा ट्वाँङ ट्वाँङ काँटी ठोक्यो कैयौँपटक 

नौकाका बहनाले खोतलेर हेर्न खोज्यो उसका निस्तरङ्ग छालहरू

छातीमा चोबल्दै निकाल्दै गर्यो बल्छीका घिनलाग्ला गँडेउलाहरू..

कतिदिन आफैलाई गिज्याउँदै उसले ऐना हेरिरह्यो आफ्नै नदीको 

नदीको ऐनाले उसलाई हेरिरह्यो टुलुटुलु 

उसले जानेन नदी रोयो रोएन पीडाले 

सधैँ जो पानीमै डुबेको हुन्छ चुर्लुम्म

उसका आँसुको के मूल्य! 

उसले कहिले

एकलासको बगरमा नदीको छाललाई कुऱ्यो,  

त्यो निर्वाक हिँडिरह्यो

उसकै औँलामा समातेर अघिपछि आइरहेका सपना

फुत्त छाडेर उसका हात अलप भइदिए कहिले

सिङ्गा दिन सिङ्गा रात खर्चेर खोजिहिँड्यो ऊ,

त्यो निर्लिप्त हिँडिरह्यो

निद्रामा पनि सगबगाइरहे उसका खुट्टाका औँलाहरू 

कुनै चढ्न नसकेका सिँढी खोज्दै,

त्यो त्यसरी नै हिँडिरह्यो  

निर्लिप्त सधैँका झै…। 

कुन स्वर्गारोहण गर्न हिँडेको होला त्यो यसरी

ऊ लड्दा पनि फर्केर हेर्दैन पछिल्तिर…. 

कुन स्वर्गमा चढ्न आतुर हँ तँ

ए उदासीन समय?

तँलाई थाहा होला

अब ऊ मुक्त हुने नै छ तेरा पैतालाका छापहरूबाट 

आफ्ना फुटेका पैतालाले आफै कोर्ने छ उज्यालो बाटो 

फुटेका ओठमा अर्कै बलिया गीत बज्नेछन्,

 बलिया धुन हुनेछन्,

कहिल्यै नबिर्सिएको राग हुनेछ

खप्पिस मनभरि…

अब विफलताको आगोमाथि लमक लमक हिँड्ने उसलाई

न पोल्ने डर न मर्ने…

अब उसको पालो चुचुरामा चढ्ने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement