गान्तोक: राज्यका खस समुदायलाई खस भवनको शिलान्यासका लागि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बधाई दिएका छन्। आज अखिल सिक्किम छेत्री बाहुन कल्याण संघद्वारा राजधानीको मनन केन्द्रमा आयोजित एक कार्यक्रम मुख्य अतिथीको आसनमा विराजमान थिए।राजधानीको पुरानो सदर थाना परिसरमा आज बिहान मुख्यमन्त्री तामाङको बाहुलीद्वारा खस भवनको शिलान्यास एवू भूमि पूजन सम्पन्न गरिएको थियो। दिउॅंसो मनन केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले खस भवनको शिलान्यासका लागि खस समुदायलाई बधाई दिए। उनले खस भवन निर्माणको निम्ति प्रस्तावित २,६०० वर्ग फुट क्षेत्रफललाई बढ़ाएर चॉंडै ६००० वर्ग फुट गरिने जानकारी गराए।उनले खस समुदायका सदस्यहरूलाई उक्त भवनको निर्माण पूरा भएपछि यसबाट राजस्व आर्जन गर्नका लागि यसको उपयोग व्यवसायिक रूपमा गर्न अनुरोध गरे। उनले खस समुदायका प्रत्येक सदस्यले नयॉं खस भवनको जिम्मेवारी र स्वामित्व लिनेछन् भन्ने आशा व्यक्त गरे। विद्यार्थीहरूको ध्यान आकर्षित गर्दै उनले सरकारद्वारा विद्यार्थीहरूका लागि शुरू गरिएका विभिन्न योजनाहरूमाथि प्रकाश पारे।मुख्यमन्त्रीले छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउन वर्तमान सरकारले गरेका कार्यहरूमाथि पनि जानकारी गराए। उनले सिक्किमका सबै समुदायहरूलाई एकजुट बन्न र सिक्किमलाई अगाडि बढ़ाएर लैजान अनुरोध गर्दै अनेकताले कसैलाई फाइदा नपुग्ने बताए। उनले राज्यका प्रत्येक समुदायको पारम्परिक भवन निर्माणका लागि प्रशासनले कुनै कसर बाकी छोड्ने छैन भनी बताए। उनले सबै समुदायहरूमा शुभेच्छा व्यक्त गर्दै समुदायहरूको उत्थानका लागि हर सम्भव सहायताको आश्वासन दिए।

कार्यक्रममा मुख्यमन्त्री तामाङलाई संघको तर्फबाट सम्मानित गरियो। कार्यक्रमलाई मन्त्री बीएस पन्त, संघका अध्यक्ष नारायण खतिवडाले पनि सम्बोधन गरेका थिए। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव आदि पनि उपस्थित रहेका थिए।