फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-को प्रयासमा आयोजन हुन गइरहेको सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल)-को निम्ति खेलाड़ीहरूका अनुबन्धको प्रक्रिया शुरु भयो। सिक्किम राज्य सरकार र टिस्टा ऊर्जा लिमिटेडको सहयोगमा आउँदो साल जनवरीमा शुरु हुने यस प्रतियोगिताको निम्ति सिक्किमका २२ जना खेलाड़ीलाई ड्राफ्टमा सामेल गरियो। उनीहरूलाई एसपीएलमा हिस्सा लिने आठवटा क्लबले अनुबन्धित गऱ्यो। यसमा राष्ट्रिय स्तरका खेलाड़ी उत्तम राई सबैभन्दा महँगो खेलाड़ी बने। उनलाई ३ लाख रुपियाँमा सिनाल्चु एफसी (नाम्ची)-ले अनुबन्धित गऱ्यो।

एफडीपीएल-को बोर्ड अव् डिरेक्टर्समा निर्मल छेत्री, सञ्जु प्रधान, विकास जैरु, रबिन गुरुङ र निम छिरिंग लेप्चा रहेका छन्। एसपीएल-को पहिलो संस्करणमा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिनेछन्। यसमा रेड पाण्डा एफसी, ड्रेगन्स एफसी, सिंगलिंग एफसी, सिनाल्चु एफसी, रोअरिंग लियोपर्ड एफसी, आक्रमण एफसी, थण्डरबोल्ट नर्थ युनाइटेड एफसी र ब्रदर्स युनाइटेड एफसी सामेल छ।

लीगमा हिस्सा लिने प्रत्येक क्लबले सिक्किम राज्य बाहिरका चारजना अनि विदेशका ३ जना खेलाड़ीलाई अनुबन्धित गर्न सक्नेछ। यसमा प्रथम एकादशमा २ जना विदेशी अनि २ जना सिक्किम राज्य बाहिरका खेलाड़ीलाई सामेल गर्न सकिनेछ। म्याचहरू गान्तोकको पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ भूटिया स्टेडियममा खेलिनेछ।