यस्तो असल कार्यक्रम सबै स्कूलहरूमा भएको राम्रो: सभासद नवराज छेत्री
खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ड्याब जोबियल एकाडेमीमा साइन्स एण्ड आर्ट एक्जिबिशन सम्पन्न भएको छ। स्कूलका शिक्षक शिक्षिकाहरूका सहयोगमा तेस्रो श्रेणीदेखि दशौं श्रेणीसम्मको विद्यार्थीहरूद्वारा साइन्स एण्ड आर्ट विषयमा प्रदर्शनी कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। उनले नै यस साइन्स एण्ड आर्ट प्रदर्शनी कार्यक्रमको शुरुवात गरेका थिए। ड्याब एकाडेमीको विद्यार्थीहरूले विज्ञानका विभिन्न विषयहरूमा आफ्नो तर्फबाट प्रदर्शनी गरेर अतिथिहरू र अभिभावकहरूलाई व्याख्या पनि गरेका थिए। नानीहरूले विज्ञान प्रदर्शनीमा विशेष गरी डेंगु विषयमा सचेतना गराउँदै जानकारी गराइएको थियो भने पर्यावरण सचेतना, प्रदुषण सचेतना, कृत्रिम हिउँ, साउण्डको विषयमा जानकारी, ब्युटिसियन र मेहन्दी लगाउने कार्य, शिक्षा र यसको आवश्यकता विषयमा सचेतना लगायत विभिन्न विषयहरूमा प्रदर्शनी राखिएको थियो भने नानीहरूले प्रदर्शनीमा राखिएको विभिन्न विषयहरूमा अतिथिहरू र अभिभावकहरूलाई जानकारी पनि गराएका थिए। प्रदर्शनी हेर्न आएका अतिथिहरू र अभिभावकहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर पनि नानीहरूले दिएका थिए भने प्रदर्शनीमा राखिएको विभिन्न जिज्ञासा र जानकारीहरू विद्यार्थी नानीहरूले प्रस्तुत गरेका थिए। यस प्रदर्शनीलाई स्कूलको परीक्षा अन्तर्गत नै राखिएको भएपनि कम समयमा यति राम्रो प्रदर्शनी सम्पन्न गरिएकोमा उपस्थित अतिथहरू र अभिभावकहरूले विद्यार्थी नानीहरूका सराहना गर्नुको साथै स्कूल पक्ष, प्राचार्य र शिक्षक शिक्षिकाहरूलाई यस सरहना कार्यको लागि बधाई पनि दिएका छन्।

यस साइन्स एण्ड आर्ट एक्जिबिशन विषयमा बोल्दै प्रमुख अतिथि सभासद नवराज छेत्रीले स्कूलका विद्यार्थीहरूले धेरै राम्रो प्रदर्शनी गरेको र यस्तो प्रकारका कार्यक्रम अन्य स्कूलहरूले पनि गर्नु आवश्यक रहेको बताउँदै यस्तो राम्रो कार्यक्रमको लागि ड्याब जोबियल एकाडेमीका प्राचार्य, शिक्षणकर्मी, विद्यार्थीहरूलाई बधाई दिएका छन्। यस कार्यक्रम विषयमा स्कूलका प्राचार्य देवजित मदुमदारले स्कूलले छोटो समयमा पनि यत्ति राम्रो प्रदर्शनी कार्यक्रम आयोजना गरेकोमा अतिथिहरू र अभिभावकहरूले सराहना गरेको बताउँदै यो स्कूलको परीक्षाकै एक भाग रहेको र नानीहरूले प्रैक्टिकलको रूपमा यो प्रदर्शनी आयोजना गरेको बताएका छन्। उनले यस अवसरमा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र अतिथिहरूमा खरसाङ महाविद्यालयको प्राध्यापक, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी गणितको शिक्षिका लगायत खरसाङबाट अतिथिहरू उपस्थित रहेको अनि अभिभावकहरू पनि उपस्थित रहेको बताएका छन्। प्राचार्य मजुमदारले स्कूलमा पढाईबाहेक पनि पर्यटन र वाइल्ड लाइफ, ब्युटिसियन, स्किल ट्रेनिङ पनि दिने गरेको ताकि भविष्यमा नानीहरूले आफ्नो तरिकाले करियर चयन गर्न सकोस् भनी बताएका छन्। उनले साइन्स एण्ड आर्ट एक्जिबिशन कार्यक्रममा स्कूलको तेस्रो श्रेणीदेखि दशौं श्रेणीसम्मको विद्यार्थीहरू नानीहरूले विभिन्न विषयहरूमा प्रदर्शनी राखेको पनि बताएका छन्। कार्यक्रम विषयमा अतिथिहरू अनि अभिभावकवर्गले पनि पत्रकारहरूसित कुराकानी गर्दै यो कार्यक्रम विद्यार्थीहरूले राम्रो प्रदर्शनी गरेको र यस्तो कार्यक्रम हेरेर खुशी व्यक्त गरेका छन्।
								



								

															
                    


